किन? बार्सिलोना छोड्न चाहान्छन् मेस्सी!

वेलकम खबर
भदौ १०, २०७७

एजेन्सी। अहिले मात्र होइन, लियोनेल मेस्सी र बार्सिलोनाको बोर्डबीच केही समय पहिल्यैदेखि सम्बन्ध राम्रो थिएन। गत जनवरीमा अर्नेस्टो भल्भार्डेको बर्खास्तीपछि स्पोर्टिङ म्यानेजर एरिक एबिदालसँग उनको जुहारी नै चलेको थियो।

‘केही खेलाडीको सम्बन्ध भल्भार्डेसँग राम्रो थिएन।’ एबिदालले नाम नलिई भनेका थिए। ‘नामै नलिइ खेलाडीलाई गाली दिनु राम्रो होइन।’ मेस्सीले जवाफ फर्काएका थिए।

मेस्सी र क्लबबीचको बिग्रदो सम्बन्ध छताछुल्ल बाहिर पोखिएपछि यसबारे धेरै चर्चा पनि भएको थियो। यद्यपी, भल्भार्डेको बर्खास्तीका बाबजुद बार्सिलोनाले ला–लिगा र च्याम्पियन्स लिग जित्ने सम्भावना बलियै थियो।

तर, सिजनको अन्त्यतिर निकै कमजोर देखिएकाले ला–लिगा उपाधि रक्षा गर्न असफल बनेको बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्यन म्युनिखसँग ८–२ ले पराजित भयो।

अर्थात्, भाल्भार्डेको साटो क्लब सम्हाल्न भएका क्वीके सेटिन ८ महिनामै बर्खास्तीमा परे। मेस्सी क्लब छाड्ने–नछाड्ने दोधारमै थिए। किनकी, २०१४ मा जोसेप मारिया बार्टोमेऊ अध्यक्षमा निर्वाचित भएयता बार्सिलोनाले अन्य क्लबका खेलाडी किन्नका लागि ठूलो धनराशी खर्चिएपनि नेयमारको स्थानमा परिपुर्ति गर्ने खेलाडी भेट्टयाउन सकेको छैन।

सन् २०१७ मा नेइमारलाई बार्सिलोनाले विश्व कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेनलाई बेचेको थियो। त्यसयता, फिलिपो काउटिन्हो, ओसमान डेम्बेले, एन्टोनियो ग्रिजम्यानलगायत खेलाडीहरु क्याम्प नाऊ आए, तर उनीहरुबाट क्लबले लगानीअनुसारको प्रतिफल पाउन सकेको छैन।

रोनाल्ड कोम्यानको आगमन
यी र यस्तै परिस्थितीबीच क्लबमा नयाँ प्रशिक्षक बनेर आइपुगेका छन् – रोनाल्ड कोम्यान। बार्यनविरुद्धको हार नै सेटिनको बर्खास्ती र कोम्यानको नियुक्तीको प्रमुख कारण बन्यो। खेलाडी किन्न करोडौँ डलर खर्च गरिसकेका अध्यक्ष जोसेफ भने खेलाडीकै दोष देखाएर आफ्नो जिम्मेवारीबाट पन्छिरहेका थिए।

जबकी, समर्थकहरुले निरन्तर उनको राजीनामा मागिरहे। तर, लज्जास्पद नतिजापछि उनको प्रतिक्रिया थियो, ‘हाम्रो प्रदर्शन मैदानमा संकटग्रस्त देखियो। क्लब प्रशासनिक रुपमा भने संकटमा छैन।’

यी सबै घटनाक्रमका बाबजुद मेस्सी चुप थिए। यसपछि उनले नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानलाई भेटे। यद्यपी, मिडिया रिपोर्टअनुसार भेट सुखद् भएन। ‘यस टोलीमा तिमीले पाएको सर्वाधिकार र लाभ अन्त्य भइसकेको छ। अब तिमीले सबै टोलीका लागि गर्नुपर्छ। कोम्यानसँगको भेटबारे जानकार श्रोतलाई उदृत गर्दै स्पेनिस मिडियाले लेखेका छन्, ‘म कठोर हुँदैछु। तिमीले केवल क्लबका लागि मात्रै सोच्नैपर्छ।’

१६ वर्षसम्म क्लबका लागि अहोरात्र खटेको, क्लब इतिहासमै सर्वाधिक उपाधि जितेको, सर्वाधिक धेरै गोल तथा एसिस्टको कीर्तिमान बनाएको तथा विश्व इतिहासमै सर्वाधिक ६ पटकसम्म बेलोन डि ओर जितिसकेको खेलाडीलाई यसरी कठोर शब्दमा कर्तव्य सम्झाउनु पक्कै शोभनीय थिएन।

सबैले मान्छन् कि बार्सिलोनामा मेस्सीको उचाइ अन्य खेलाडीको जस्तो होइन। उनी बार्सिलोनाको इतिहासकै महान् खेलाडी हुन। पूर्वखेलाडी स्यामुयल इटोले त ‘मेस्सीले बार्सिलोना छाडेमा क्लबकै नाम फेर्नुपर्छ’ सम्म भनेका थिए। उनले मेस्सीलाई विश्व जगत्मा बार्सिलोना शहरको अनुहार पनि भनेका थिए। धेरै हदसम्म यो साँचो हो।

मिडिया रिपोर्टस्का अनुसार कोम्यानको यस्तो हुकुमी शैलीपछि मेस्सी निकै स्तब्ध भएका थिए। जसकारण, उनले क्लब छाड्ने निर्णय लिए। मेस्सीले फ्याक्स गरेर क्लबको बोर्डलाई आफुले क्लब छाड्न चाहेकोबारे जानकारी गराइसकेका छन्।

यसअघि कोम्यानले लुईस सुआरेज, जोर्डी अल्बा, सर्जियो बुस्क्वेट, इभान राकिटिचलगायतका क्लबका अनुभवी खेलाडी आफ्नो योजनामा नरहेको खुलेआम घोषणा गरेका थिए। उनको आगमनसँगै यीलगायत अन्य खेलाडी पनि आफ्नो भविष्यलाई लिएर अन्योलमा परेका छन्।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु