एक महिनामा कार्गो उडानबाट साढे ११ अर्बको वैदेशिक व्यापार
काठमाडौं। अहिले हवाई यातायात बन्द छ। तर, चार्टर्ड उडानका लागि भने अनुमति मिल्छ। सोही क्रममा दैनिक जसो कार्गो उडान भइरहेका छन्।
एकातर्फ मेडिकल सामग्रीको आपूर्ति र अर्कोतर्फ सडक यातायातमा भएको अवरोधका बीच व्यापारीहरुले हवाईमार्गबाट पर्याप्त मात्रामा वैदेशिक व्यापार गरेको छ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को साउन महिनामा त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयबाट मात्र कुल ११ अर्ब ३६ करोड ४७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ।
त्यसमध्ये आयात ८ अर्ब ९७ करोड ८५ लाख रुपैयाँको भएको छ। यो कुल आयातको १०.४६ प्रतिशत हिस्सा हो। अर्थात् एक महिनामा १०० रुपैयाँ बराबरको सामान नेपाल भित्रँदा १० रुपैयाँ बराबरको सामान जहाज चढेर आएको छ।
उता, कुल निर्यातको २४.८० प्रतिशत निर्यात व्यापार त्रिभुवन विमानस्थलबाट भएको छ। यो प्रवृत्ति भने अघिल्लो वर्षहरुमा समेत देखिने गरेको छ। किनकी खासगरी तेस्रो मुलुकमा नेपालबाट जाने अधिकांश सामान जहाजमार्फत लैजाने गरिन्छ।
वैदेशिक व्यापारमा सबैभन्दा व्यस्त भन्सार भने वीरगन्ज हो। खासगरी यहाँबाट पेट्रोलियम पदार्थको आपूर्ति बढी हुने गरेको छ। जसले गर्दा कुल वैदेशिक व्यापारमा वीरगन्ज नाकाको ठूलो हिस्सा देखिन्छ।
भन्सार विभागको तथ्यांकअनुसार वीरगन्जबाट कुल आयातको २७.५५ प्रतिशत व्यापार भएको छ। निर्यातको २८.५० प्रतिशत व्यापार यहाँबाट भएको छ। भारततर्फ जाने धेरै सामान यसै भन्सार हुँदै बाहिरिने गरेको छ।
यसबाहेक विराटनगर, भैरहवा, सुख्खा बन्दरगाह, नेपालगन्जलायत ठूला भन्सार कार्यालयबाट बढी वैदेशिक व्यापार हुने गरेको छ।


















