ओलीलाई हटाउने भारतको रणनिति असफल, मिडिया प्रयोग गरेर नेपाल–चीनविरुद्ध दुष्प्रचार गर्दै
काठमाडौं। केही समयअघि नेपाल–चीनबीच प्रोपोगाण्डा फैलाएको भारतले फेरि त्यही हतियार प्रयोग गर्न थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनै पनि हालतमा पदबाट हटाउन चाहेको भारतले केही समयअघि चीनले नेपालको भूमि अतिक्रमण गरेको समाचार प्रकाशित गरेर ओलीविरुद्ध दुष्प्रचार गरेको थियो।
त्यतिबेला भारतीय मिडियाले त्यो भूमि ओली सरकारले चीनलाई उपहार दिएकोसम्मको दुष्प्रचार गरेका थिए। त्यतिबेला चीनले नेपाली भूमि अतिक्रमण गरेको रिपोर्ट नेपाली मिडियामा पनि आएको थियो तर जुन दस्तावेजको आधारमा ती समाचार आएका थिए त्यो दस्तावेज नै फर्जी भएको खुलासा भएपछि नेपाली मिडियाले माफी मागिसकेका छन्।
तर, भारतले त्यो फर्जी दस्तावेजलाई नै सही साबित गर्ने दुष्प्रयास छोडेको छैन। केही समयअघि कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँको निधन भएपछि पनि भारतीय मिडियाले उनको निधनलाई समेत चीनले भूमि अतिक्रमण गरेको विषयलाई जोडेर बानियाँको शवमाथि नै दूषित राजनीति गर्ने प्रयास गरेका थिए।
भारतीय मिडियाले चीनको सीमा अतिक्रमणको खुलासा गर्ने पत्रकारको रहस्यमय मृत्यु भएको भन्दै उनको मृत्युमा चीनको हात हुन सक्ने आशयका समाचार प्रकाशित गरेका थिए। जबकि बानियाँले लेखेको समाचारको स्रोत नै गलत थियो र यो समाचारको विषयमा कान्तिपुरले माफीसमेत मागिसकेको छ।
तर, भारतीय मिडियाले अझै पनि चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्न छाडेका छैनन्। पछिल्लो समय चीनको नेपाली भूमि अतिक्रमण गरिरहेको र प्रधानमन्त्री ओली मौन रहेको भन्दै समाचार प्रकाशित गरेर भारतीय मिडियाले नेपाली प्रधानमन्त्रीको मानमर्दनको प्रयास गरेका छन्।
अहिले एउटा समाचार भारतका मूलधारका सबैजसो मिडियामा आएको छ। समाचार एजेन्सी एसिया न्यूज इन्टरनेशनलको यो समाचार भारतका ठूला मिडियाहरु, टाइम्स अफ इण्डिया, हिन्दूस्तान टाइम्स, द हिन्दू, इण्डिया टुडे लगायत अधिकांश अन्तर्राष्ट्रिय रुपमा विश्वास गरिने मिडियामा आएको छ।
यो समाचारमा चीनले नेपाली भूमि अतिक्रमण गरिरहेको र नेपाली प्रधानमन्त्री केपी ओलीले मौन रहेर चीनको विस्तारवादलाई समर्थन गरिरहेको दावी गरिएको छ। तर, यो समाचारमा पनि त्यही दस्तावेजलाई स्रोत बनाइएको छ जुन दस्तावेज झुटो भएको यसअघि नै प्रमाणित भइसकेको छ।
एएनआइको समाचारमा नेपालको ‘कृषि मन्त्रालयको नापी विभागको एक रिपोर्ट’मा चीनले नेपाली भूमि अतिक्रमण गरेको उल्लेख भएको भनिएको छ। यो दावी पूरै झुटो हो किनकि नेपालको कृषि मन्त्रालय अन्तर्गत नापी विभाग नै छैन।
यसअघि भारतले प्रधानमन्त्री ओलीलाई पदबाट हटाउने निकै प्रयास गरेको थियो। सत्तारुढ नेकपाभित्र अन्तरद्वन्द्व सृजना गरेर प्रधानमन्त्री ओलीको राजीनामा पार्टीभित्रैबाट मागिने स्थिति सृजना गर्न सफल भएको भारत ओलीलाई प्रधानमन्त्रीबाट हटाउन भने विफल भयो।
नेकपाका अर्का अध्यक्ष प्रचण्ड ओलीको राजीनामा माग्ने लाइनबाट पछि हटेर ओलीसँग सम्झौता गर्ने मुडमा पुगेलगत्तै भारतले सीमाको विषय उठाउनुबाट उसको नियत बुझ्न सकिन्छ।
एएनआइको रिपोर्टमा चीनले नेपालका दोलखा, गोरखा, दार्चुला। हुम्ला, सिन्धुपाल्चोक, संखुवासभा र रसुवा जिल्लामा भूमि अतिक्रमण गरेको दावी गरिएको छ।
तर, यो दावी हुँदै नभएको विभागको दस्तावेजलाई उद्धृत गर्दै गरिएकोले यसमा सत्यता होला भने विश्वास गर्नै मिल्दैन। रिपोर्टमा चीन दोलखा जिल्लामा डेढ किलोमिटर भित्रसम्म आइसकेको दावी गरिएको छ र यो झुटो हो भन्ने यसअघि नै प्रमाणित भइसकेको छ।


















