सिन्धुपाल्चोकको पहिरोमा थप ३ को शव फेला, मृतकको संख्या २८ पुग्यो
सिन्धुपाल्चोक। गत शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरोमा बेपत्ता भएकामध्ये थप तीन जनाको शव भेटिएको छ।
एक बालक र दुई महिलाको शव आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेले जनाएको छ। पाँच वर्षीय सानुकान्छा दोङ, ४२ वर्षीया जिबिरानी दोङ र १८ वर्षीया ललिता दोङको शव फेला परेको हो। यससँगै पहिरोमा ज्यान गुमाउनेको संख्या २८ पुगेको छ।
यसअघि २५ जनाको शव भेटिएको थियो भने ११ जना अझै बेपत्ता छन्। हालसम्म शव फेला परेकामध्ये १५ पुरूष र १३ महिला छन्। तीमध्ये १४ बालबालिका मात्रै छन्।
बेपत्ताहरूको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी जुटेका छन्। एक्साभेटर ल्याउन सकिने अवस्था नरहेकाले पिक, साबेल र कोदालोका भरमा खोजी भइरहेको बताइएको छ।


















