सिन्धुपाल्चोकमा पहिरो : १५ घर पुरिए, ५ घरका सदस्य बेपत्ता
काठमाडौं। सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १५वटा घर पुरिएका छन्। पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन छन्।
शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन्। जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले भने, ‘१५ वटा घर पुरिएर देखिँदै देखिँदैन, पाँच घर परिवारका सदस्यहरु सम्पर्कमा हुनुहुन्न। ती पाँच घर परिवारमा कति जना सदस्य हुनुहुन्थ्यो भन्ने पनि पत्ता लागेको छैन।’
अहिले पानी पर्न रोकिए पनि पहिरो झरिरहेकाले उद्धार टोली खटिन सकेको छैन। जुगल गाउँपालिकाका योजना अधिकृत नेपालले भने, ‘उद्धार गर्न एकदमै कठिन छ। पहिरो झरिरहेको छ। हामी हेलिकोप्टर परिचालनको तयारीमा छौं।’
१९ साउनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको थियो। यस्तै २४ असारमा गएको बाढी पहिरोमा बेपत्ता भएका २२ जना अझै फेला परेका छैनन्।



















