कलाकार र प्राविधिकलाई पारिश्रमिक घटाउन दबाब

काठमाडौँ। निर्देशक दिवाकर भट्टराई नयाँ चलचित्र बनाउने तयारीमा छन्। हाल, चलचित्रको लागि लोकेसन हेर्न मोफसल पुगेका यी निर्देशकले नायिका दिपिका प्रसाईं र नायक पल शाहलाई लिएर नयाँ चलचित्र बनाउने चर्चा चलेको धेरै भैसक्यो।
तर, उनी लोकेसन हेर्न मोफसल दौडिए पनि पूर्ण रुपमा कोरोना भाइरसको भ्याक्सिन नआएसम्म छायाङ्कन गर्न सकिन्छ भन्ने सोचमा छैनन्। किनकी, चलचित्रका लागि आवश्यक लोकेसनमा अहिले नै सजिलोसँग छायाङ्कन गर्न सकिने अवस्था छैन।
दिवाकर चलचित्र महँगो बजेटमा बनाउन नहुने बताउँछन्। तर, चलचित्रका लागि आवश्यक दृश्यमा सम्झौता गर्न नसकिने उनको तर्क छ। अरु निर्देशकको जस्तै दिवाकरको पनि तर्क छ कि, कलाकार र प्राविधिकले सस्तो रकममा काम गर्नुपर्छ। उपकरणहरू भाडामा दिने कम्पनीले निर्मातालाई राहत दिनुपर्छ।
धेरै निर्देशक तथा निर्माता अहिले यही सोच राखिरहेका छन्। निर्देशक दीपेन्द्र के खनालले पनि सम्झौता गर्ने नाममा चल्ने चित्र मात्र बनाउन नसकिने बताउँछन्। कलाकार, प्राविधिक र उपकरणमा छुट हुनुपर्छ। तर, चलचित्र स्तरीय मेकिङमा सम्झौता गर्दा झनै घाटा लाग्ने उनको भनाइ छ। यसको अर्थ, अब पारिश्रमिक नै कम गरेर कलाकार, प्राविधिकहरूले काम गर्नुपर्छ भन्ने नै हो।
निर्देशक मिलन चाम्सले पनि सबैले मिलेर चलचित्र क्षेत्रलाई अगाडि बढाउनुपर्ने भन्दै यसमा सबैले सहयोग गर्नुपर्ने बताउँदै आएका छन्। केही कलाकारले पनि पारिश्रमिक घटाउन तयार भएको त बताइरहेका छन्।