केन्द्रीय कमिटी बैठक माग गर्दै नेकपाका १५२ सदस्यले बुझाए पत्र
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १ सय ५२ केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गरेका छन्। पार्टीलाई एकताबद्ध र सुदृढ बनाएर अघि बढाउनुपर्ने समयमा विवाद झनै चुलिँदै गएको भन्दै केन्द्रीय सदस्यहरुले केन्द्रीय कार्यालय धुम्बाराहीमा लिखित पत्र बुझाएका हुन्।
पार्टीभित्रको विवादले आफूहरुलाई चिन्तित बनाएको भन्दै उनीहरुले अहिले देखिएका सबै विवाद र समस्याको समाधान पार्टीको बैठकमा छलफल गरी विधि पद्धतिअनुसार समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
पार्टीको अन्तरिम विधान, २०७५ को धारा ५९ (क) ४ बमोजिम केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने केन्द्रीय सदस्यहरुको माग छ। यो व्यवस्थाअनुसार एक चौथाइ सदस्यले बैठक माग गरेको एक महिनाभित्र बैठक बोलाउनुपर्ने हुन्छ। नेकपामा चार सय ४१ केन्द्रीय सदस्य रहेका छन्।


















