भदौ १ पछि अदालतको लकडाउन पूर्णरूपमा हट्ने
काठमाडौं। कोरानो भाइरसविरुद्ध चैत ११ गतेदेखि लागू भएको बन्दाबन्दी औपचारिक रूपमा मङ्गलबार रातिदेखि अन्त्य भएको घोषणा गरिए पनि न्यायालयका मुद्दाको म्याद हदम्यादको समय भदौ १ गतेबाट नै सुरु हुने भएको छ।
बन्दाबन्दी खुले पनि सेवाग्राही आवतजावतका लागि लामो दूरीका सवारीसाधन सञ्चालन नभएसम्मको अवधि अदालत खुलेको नमानिने सर्वोच्चको यसअघिकै निर्णय छ। सो अनुसार अदालतले दुई चरणमा म्याद हदम्याद कायम गर्नेगरी अदालतको नियमित कारबाही पुनः सञ्चालन गर्न लागेको हो।
अदालतले उपत्यकाका हकमा हाल बन्दाबन्दी अन्त्यको समयलाई नै आधार मानेर ३० दिनको समय म्याद तथा हदम्यादका लागि दिने छ। सर्वोच्चले मातहतका अदालतमा समेत सोहीअनुसार व्यवस्थापनका लागि परिपत्रको तयारी गरेको खबर आजको गोरखापत्रले छापेको छ।


















