दुई दिनभित्र छोटो दूरीका सार्वजनिक सवारी चल्ने
काठमाडौँ। केही दिन अघि आवश्यक तयारी र व्यवसायीलाई राहत नल्याई सार्वजनिक सवारी सञ्चालन गर्न नसकिने भन्दै सरकारको निर्णय नमान्ने बताएका यातायात व्यवसायीले दुई दिनभित्रै सार्वजनिक सवारी सञ्चालन गर्ने बताएका छन्।
शुक्रबार सार्वजनिक गरिएको मौद्रिक नीतिले आफूहरूको धेरैजसो माग सम्बोधन गरेको भन्दै यातायात व्यवसायीले सकारात्मक प्रतिक्रिया जनाएका हुन्।
उनीहरूले राखेको बैङ्कको किस्ता सार्नुपर्ने, सहुलियत ब्याजदरको पुनर्कर्जा दिनुपर्ने लगायतका माग मौद्रिक नीतिमार्फत सम्बोधन भएपछि अब सार्वजनिक यातायात खुलाउन व्यवसायीहरू सकारात्मक भएका हुन्।
सरकारले गत असार २६ गतेबाट जिल्लाभित्र र काठमाडौँ उपत्यकाभित्रको सार्वजनिक सवारी खुला गरेको थियो। तर कोरोना भाईरस कोरोना भाइरसबाट आफू जोगिएर यात्रुको सुरक्षित यात्रा गराउन अहिलेकै अवस्थामा नसकिने बताएका व्यवसायीले केही दिनमा नै सवारी सञ्चालन गर्ने तयारी गरेका छन्।
सरकारले यात्रुबाट साविककोभन्दा थप ५० प्रतिशत बढी भाडा लिन पाइने व्यवस्था गरेको छ। सोहीअनुरुप साझा यातायात पनि सञ्चालन भईसकेको छ।


















