अख्तियारको कारबाहीमा शाखा अधिकृत र सुब्बा धेरै

वेलकम खबर
साउन ३, २०७७

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो एक वर्षमा २०८ जना राष्ट्रसेवक कर्मचारीमाथि कारबाही गरेको छ। आयोगले कारबाही गरेको राष्ट्र सेवक मध्ये सबैभन्दा बढी शाखा अधिकृत र नायब सुब्बा सरहका कर्मचारी छन्।

आयोगले गत आव २०७६र७७ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै गत वर्ष १८१ वटा घुस लिएको उजुरीको आधारमा रङ्गेहात पक्राउ ‘स्टिङ’ गरेको थियो। जसमा २७७ जनाको संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभएको छ। उक्त ‘स्टिङ’मा २०८ जना राष्ट्रसेवक परेका हुन्। जसमध्ये ११० जना अप्राविधिक र ४४ जना प्राविधिक तथा ४८ जना प्रहरी छन्।

प्रहरी बढी कारवाहीमा

विधागत रुपमा सबैभन्दा बढी कारबाहीमा परेको प्रहरी सङ्गठनका छन्। चालक अनुमति पत्र नभएकासँग घुस लिने, मुद्दा मिलाउने नाममा घुस लिने प्रवृत्तिका मुद्दाहरूमा प्रहरीको संलग्नता देखिएको आयोगले जनाएको छ।

आयोगको वार्षिक गतिविधि केलाउँदा विकास निर्माणमा पेश्की फर्छ्यौटका लागि भुक्तानी दिँदा कमिसन माग गरेको आधारमा स्थानीय तह तथा अन्य पूर्वाधार निर्माण अड्डाका कर्मचारीहरू घुससहित पक्राउ परेर आयोगको कारबाहीमा परेका छन्। गत आवमा २९६ दिन कार्यालय सञ्चालन भएको थियो। प्रतिदिन करिब एक जना व्यक्ति घुस लिएको कारबाहीमा परेका छन्।

आयोगको प्रतिवेदन अनुसार १३ जना उपसचिव स्तरका कर्मचारी, ५३ जना शाखा अधिकृत वा सो सरहका, ६९ जना नायब सुब्बा, २७ जना खरिदार र २८ जना जुनियर कर्मचारी घुससहित पक्राउ परेका छन्। १६ जना कार्यालय सहयोगीलाई आयोगले घुससहित पक्राउ गरेको दाबी गरेको छ। छ जना शिक्षक र एक अदालतमा कार्यरत कर्मचारीसमेत अख्तियार दुरुपयोग गरेको आरोपमा कारबाही भोगेको उल्लेख गरिएको छ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार अनियमिततामा संलग्न १४ जना निर्वाचित तथा मनोनित पदाधिकारीमाथि समेत कारबाही गरिएको छ । घुस लेनदेनमा ५५ जना बिचौलियाको संलग्नता देखिएको छ। गोरखापत्र

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*