देशका विभिन्न ठाउँमा वर्षा, सतर्कता अपनाउन आग्रह
काठमाडौँ। काठमाडौँ उपत्यका सहित देशका विभिन्न क्षेत्रमा बिहानैदेखि भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार विभिन्न नदी तथा खोलामा पानीको आकस्मिक बहावको सम्भावना छ। नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
काठमाडौँ उपत्यकाका अलवा ताप्लेजुङ, पाँचथर, झापा, धनकुटा, खोटाङ, भोजपुर, उदयपुर, सप्तरी, सिरहा, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, मकवानपुर, नुवाकोट, नवलपरासी, तनहुँ, लमजुङ, गोरखा, कास्की, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, सुर्खेत र आसपास केही स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको विभागले जनाएको छ।
थप वर्षा हुने सम्भावना रहेका उक्त स्थान आसपास भई बहने स–साना नदीमा आकस्मिक बहावको सम्भावना रहेको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा १० दशमलब सात मिलिमिटर वर्षा मापन गरिएको छ। सबैभन्दा धेरै दोलखाको जिरीमा ५७ दशमलव सात मिलिमिटर वर्षा भएको छ।


















