थप ११६ जनामा कोरोना सङ्क्रमण, एक जनाको मृत्यु
काठमाडौँ। बुधबार नेपालमा ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १७ हजार १७७ पुगेको छ। बुधबार ६९७ जना डिस्चार्ज भएका छन्। अहिले सम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार २५ पुगेको छ।
बुधबार काठमाडौँ जिल्लामा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। साथै कोरोना भाइरस सङ्क्रमणका कारण नेपालमा बुधबार थप एक जनाको मृत्यु भएको छ। रौतहटको पर्रोहा नगरपालिका- ७ का ३६ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। उनका दाजुको भारतमा कोरोनाका कारण मृत्यु भएको थियो।
उनको अन्त्येष्टिमा सहभागी भएर फर्किएका परिवारका सदस्यलाई क्वारेन्टाइनमा राखिएको थियो। त्यस क्रममा रुघाखोकी, ज्वरो र स्वासप्रस्वासमा समस्या भएपछि ती युवकलाई असार २९ गते वीरगञ्जको नारायणी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो।


















