उपत्यकामा चल्न थाले सार्वजनिक यातायात

वेलकम खबर
असार ३०, २०७७

काठमाडौँ। सरकारले छोटो दूरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै काठमाडौँ उपत्यकाका सडकमा सार्वजनिक यातायात गुड्न थालेका छन्। राजधानीका विभिन्न सडकखण्डमा सोमबार मयूर यातायात, संयुक्त यातायात, मनमैंजु यातायातलगायतका बस गुड्न थालेका हुन्।

सरकारले छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेपछि यातायात व्यवसायीले भने विभिन्न माग राखेर बस नचलाउने बताउँदै आएका थिए। तर, सोमबारदेखि भने विभिन्न कम्पनीले बस सञ्चालन गर्न थालेका हुन्। सडकमा सार्वजनिक यातायात गुडे पनि यात्रुको सङ्ख्या भने न्यून देखिएको छ। अधिकांश बस खाली नै गुडिरहेको पाइएको थियो।

कलङ्कीमा भेटिएका एक चालकले बस ग्यारेजबाट निकालेर गुडाउन थाले पनि यात्रु नै नभेटिएको गुनासो गरे। सरकारले कोरोना भाइरस ९कोभिड–१९० को रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको करिब साढे तीन महिनापछि बिहीबार सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेको थियो। सरकारले उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर भित्र र बाहिरका जिल्लामा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्न मिल्ने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो।

सरकारले सिट क्षमताको बढीमा आधा यात्रु राख्नुपर्ने, सार्वजनिक यातायात सञ्चालन गर्दा चालक र सहचालकले मास्कपन्जा अनिवार्य लगाउनुपर्ने, ढोका र यातायातका साधन भित्र स्यानिटाइजर राख्नुपर्ने, यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्ने गरी सवारी साधन चलाउन अनुमति दिएको थियो। सरकारले छोटो दूरीका सबारीसाधन सञ्चालन गर्न अनुमति दिए पनि लामो दूरीको सवारी चलाउन भने अनुमति दिएको छैन। काठमाडौँ उपत्यकामा सोमबार सञ्चालनमा रहेका बसका चालक र सहचालकले हातमा पन्जा र मास्क लगाएको पाइएको छ। बसमा एक लहर राखेर सामाजिक दूरी कायम गर्ने प्रयास गरिएको पाइएको छ।

यता, केही समय अघिदेखि विद्युतीय बस चलाउँदै आएको सुन्दर यातायात प्रालिले आज ९मंगलबार० बाट बस सेवा सुरु गर्ने जनाएको छ। कम्पनीले सरकारले तोकेअनुसार साविकको भन्दा ५० प्रतिशत बढी भाडा पनि नलिने घोषणा गरेको छ। सुन्दरका चार वटा बसले दुईवटा रुटमा सेवा दिने कम्पनीले जनाएको छ। सुन्दर प्रालिका अनुसार सूर्यविनायक–रत्नपार्क र चक्रपथमा सुन्दरका दुई–दुई वटा विद्युतीय बसले सेवा दिनेछन्। राजधानी दैनिक

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*