ललितपुरमा एकैघरका १० जनामा कोरोना पुष्टि
ललितपुर। ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असार १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनका परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब सङ्कलनमा सबैको नतिजा पोजेटिभ आएको हो।
नर्सले आफू सङ्क्रमित देखिनुअघि आमालाई लुभूस्थित स्वस्तिक फार्मेसीमा अन्य रोगको समस्या भएर उपचारका लागि ल्याएको वडाध्यक्ष विश्वराज श्रेष्ठले बताए। सो फार्मेसीमा कार्यरत श्रेष्ठका दुई छोराले यही असार २१ गते पाटन र टेकुमा गरेको स्वाब परीक्षणमा उनीहरूको रिपोर्ट समेत कोरोना पोजेटिभ आएको श्रेष्ठले जानकारी दिए।
श्रेष्ठलगायत उनका नाति र बुहारी भने हाल होम क्वारेन्टाइनमा छन्। फार्मेसीमा कार्यरत जेठो छोरा र अर्का चिकित्सक भनिएका कान्छा छोरा भने हाल सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा उपचार गराइरहेका छन्।
सो वडामा यसका अलवा विदेशबाट फर्किएकी एक महिला, ग्वार्कोको बी एण्ड बी अस्पतालमा उपचारका लागि गएका एक पुरुष र स्थानीय अर्की एक महिला गरी हालसम्म लुभूका १५ जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको नगर प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए। उनले भने, ‘यसका अलवा वडा नं ६ सिद्धिपुरका तीन, वडा नं १ र वडा नं ४ इमाडोलका एक९एक गरी अन्य पाँच जनासमेत कोरोना पोजेटिभ देखिएको छ। नगरपालिका भित्र हालसम्म कूल २० जना कोरोना पोजेटिभ देखिएका छन्।’
यी सङ्क्रमितको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। लुभूका यी १२ व्यक्तिमा एकैदिन यही असार २५ गते कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले बताए। रासस


















