जाजरकोट पहिरो अपडेट : थप एकको शव फेला, मृतकको सङ्ख्या ११ पुग्यो
जाजरकोट। जाजरकोटको बारेकोट गाउँपालिका ४ सार्कीटोलमा बिहीबार राती गएको पहिरोमा परी बेपत्ता थप एक जनाको शव फेला परेको छ। पहिरोमा हराएकी मृतक गोपाल सार्कीकी १३ वर्षीया छोरी लक्ष्मी सार्कीको शव भेटिएको हो। योसँगै उक्त पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ।
पहिरोले दुई घर बगाउँदा पाहुन आएका सहित १२ जना बेपत्ता भएका थिए। पहिरोमा परी बेपत्ता ११ वर्षीया कमला सार्कीको शव आइतबार बिहान उद्धार टोलीले भेटेको थियो। कमला घटनामा परी मृत्यु भएकी कलु सार्कीकी छोरी हुन्। ३८ वर्षीय कलु सार्की, उनकी १३ वर्षीय छोरी तिर्सा सार्की र ६ वर्षीय छोरा सुभाष सार्कीको मृत्यु भएको छ।
घटनामा पाहुना आएका कुशे ९ चौराटाका १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की, २० वर्षीय डिल्ली सार्की तथा १८ वर्षीय विरेन्द्र सार्कीको मृत्यु भएको बताइएको छ। उनीहरु दिदीको घरमा पाहुना आएका थिए। पहिरोमा बारेकोट ४ का ५२ वर्षीय गोपाल सार्की र उनका ११ वर्षीय छोरा अर्जुन सार्कीको मृत्यु भएको छ।


















