पशुपतिको जग्गामा व्यक्तिको रजाँइ : सरकार मुकदर्शक
काठमाडौं। पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा काठमाडौंको गोठाटारमा रहेको ५३४ रोपनी जग्गा वर्षौदेखि व्यक्ति, संस्थाले अतिक्रमण गर्दासमेत सरकार मुकदर्शक बनेको छ। कोषको जग्गामा विभिन्न व्यक्ति, संस्थाले अतिक्रमण गरी घर टहरा निर्माण गरेका छन्। वि. सं २०४६ मा मन्त्रीपरिषद् बैठकको निर्णयबाट कोषलाई दिएको सो जग्गा तारवारसम्म नगर्दा अतिक्रमण हुदै गएको छ, भने वर्षेनी लाखौं रुपैया बरावरको बालुवा अवैध तरिकाले निकासी हुने गरेको छ।

कोषको उक्त जग्गामा एक सरकारी विद्यालय, ३० भन्दा बढी टहरा तथा केही घरहरु अतिक्रमण गरी बनाइएको छ। गुठीका नाममा मन्दिर, धर्मशाला निर्माण गरिएको हो। जग्गाभित्र अहिले विभिन्न घुम्ति पसल, व्यक्तिगत मनोरञ्जन स्थल, सवारीसाधन सिक्ने ठाउँ आदिका नाममा कोषको जग्गा अतिक्रमण भइरहेको छ। उक्त जग्गामा दैनिक रुपमा २५ ट्रक भन्दा बढी बालुवा चोरी हुँदा समेत सम्बन्धित पक्ष बेखर बनेको छ।
आफ्नो चल अचल सम्पतिको संरक्षण गर्नुपर्ने दायित्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय मातहतको पशुपति विकास कोषको हो। तर, कोषको कार्यलयबाट तीन किलोमिटर दूरीमा रहेको कागेश्वर मनहरा नगरपालिका वडा नं. ६ मा पर्ने उक्त जग्गाबाट कोषले प्रशस्त आम्दानी लिनसक्ने भएपनि बेवारिसे आवस्थामा छाडिएको छ। कोषको जग्गामा तेजविनायक माध्यमिक विद्यालयले समेत धमाधम भवन निर्माण गरिरहेको छ। व्यक्ति विशेष घर टहरा, दाहालको कूल देवता मन्दिर, जसले स्थानीयको मनपरी र दादागिरी चलेको पुष्टी गर्छ। कोष भने रमिते मात्र बनेर बसेको पाईएको छ।
राजधानी काठमाडौंको सुगम स्थलमा रहेको कोषको जग्गा आर्थिक उपलब्धि मात्र हैन रमणीय धार्मिक तथा सांस्कृतिक पर्यटनको आकर्षक गन्तब्य पनि बन्ने प्रसस्तै आधार रहेको उक्त स्थानमा कोष तथा सरोकारवाला निकायको बेवास्थाले गर्दा व्यक्ति तथा संस्थाले रजाई गरिरहेका हुन।
कोष मातहतका जग्गा चौतर्फी अतिक्रमणमा परिरहदाँ कोषले निर्णायक कदम चाल्न सकेको छैन। गतवर्ष कोषले अतिक्रमणमा परेको जग्गा खाली गर्न पत्राचार तथा स्थलगत रुपमा माइकिङ गरेर आग्रह गरेपनि उनीहरुले अटेर गरेको कोषले जनाएको छ। पछिल्लो पटक बन्दाबन्दीको मौका छोपेर नयाँ नयाँ टहरा थप्ने र जग्गा अतिक्रमण गर्ने क्रम बढिरहेको देख्न सकिन्छ। कोषका सदस्यसचिव डा प्रदीप ढकालले अक्रिमणमा परेको कोषको जग्गाको संरक्षण तथा व्यवस्थापनका लागि कोषले काम शुरु गरेपनि प्रभावकारीरुपमा अगाडी बढाउन नसकिएको बताएका छन्। सिमांकनका लागि नापी कार्यालयलाई पत्राचार गरिएको भएपनि हाल काम अघि नबढेको बताइएको छ।
कोषका कोषाध्यक्ष डा. मिलन थापाले कोषको जग्गाबाट वार्षिक रुपमा ४० देखि ५० लाख मूल्यको बालुवा चोरी निकासी भइरहेको स्वीकार गर्दै स्थानीयको अतिक्रमणमा परेको जग्गाको प्रभावकारी व्यवस्थापन हुन नसक्दा कोष निरिह बस्नुपरेको स्वीकार गरेका छन्। कोषका अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले गत पुष २६ गते सो क्षेत्रको स्थलगत निरीक्षण गरी जग्गाको संरक्षणको लागि घेरा पर्खाल लगाउने, सो जग्गामा गौशाला निर्मााण,अन्तराष्ट्रिय सम्मेलन तथा प्रवचन केन्द्र, पशुपति अध्ययन केन्द्र-प्रतिष्ठान, अस्पताल सहित समावेश गरी पशुपति ग्राम गुरुयोजना बनाउन निर्देशन दिएका थिए। मन्त्री भट्टराईले जग्गाभित्र पर्ने साना तिना डाँडा, उपट खापटलाई सम्याएर, पर्यटकीय स्थल, पार्क, अन्य भौतिक संरचना निर्माणका साथै जग्गाको माटो बिक्री गरेर कोषको आम्दानी बढाउन सकिने समेत बताएका छन्।

पर्यटन मन्त्रालय मातहतकै नागरिक उडड्यन प्राधिकरणले अहिले त्रिभुवन विमानस्थल विस्तारको दोस्रो चरणको काम अगाडी बढाइरहेको छ। जसका लागि चिनियाँ निर्माण कमपनिले ठेक्कासमेत पाईसकेको छ। यस अन्र्तगत उत्तर तर्फको खाल्डो जमीनमा माटो भर्नुपर्ने छ। कोषको उक्त जग्गाको माटो-बालुवा विमानस्थलको विस्तारको सो काममा लगाउँदा मात्र कोषलाई १ अर्वभन्दा बढी आम्दानी हुने बताइएको छ। हुन त यो जग्गाप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो देखाएको छ। आयोगले कोषलाई पत्राचार गरि कोषको बृहतर हितमा ध्यानमा राखी सो जग्गा प्रयोगमा ल्याउने भनेको छ। गुरुयोजना अन्तर्गत सो जग्गामा पशुपति हिन्दु विश्वविद्यालय, पशुपति स्वास्थ्य केन्द्र, पशुपति बृद्धाश्रम, पशुपति गौशाला निर्माणका साथै पशुपति क्षेत्रका बि १३ क्षेत्रका बासिन्दाको पुनःस्थापनका लागि योजना बनाइएको छ। कोषले तयार पारेको यो गुरुयोजना मन्त्रालयमा पुगेको छ । मन्त्रिपरिषद्बाट पारित भएपछि मात्र कार्यन्वयनको चरणमा जाने जनाइएको छ।
२ सय ३१ रोपनी जग्गा नै गायव
कोषसँग भएको २ सय ३१ रोपनी जग्गा नै हराएको छ। देशभर रहेको जग्गा मध्ये त्यति जग्गा हराएको हो। कोषका कोषाध्यक्ष थापाले उक्त जग्गा खोला, वाटोमा परेको हुनसक्ने बताउँदै खोजी गर्ने काम भईरहेको जानकारी दिएका छन्। कोषसँग अहिले देशभर १८ हजार ३ सय ४२ रोपनी ५ आना जग्गा रहेको छ।




















