शुक्रबार १६ सय ११ नेपाली स्वदेश आइपुगे, आज १९ उडान

वेलकम खबर
असार २७, २०७७

काठमाडौं। शुक्रबार विभिन्न ९ उडानमार्फत नेपाली स्वदेश फर्किएका छन्। खाडीमा देश मलेसिया र कोरियाबाट त्यहाँ समस्यामा रहेका १६ सय ११ जना नेपाली चार्टर्ड उडानमार्फत स्वदेश आएका हुन्।

शुक्रबार नेपाली लिएर कोरियाबाट आएको कोरियन एअरले भने एक बच्चासहित २०५ जना यात्रु लिएर गएको छ। खाडीका देश, मलेसियासहित विभिन्न देशबाट कोरोना महामारीका कारण समस्यामा परेर स्वदेश फर्कंनै पर्ने अवस्थामा रहेका नेपालीहरुलाई सरकारले लिनका लागि चार्टर्ड जहाजहरु पठाइरहेको छ। शुक्रबार खाडी र मलेसियाबाट ४ नेपालीको शव पनि आएको छ।

शुक्रबार मलेसियाबाट मात्रै तीन उडानमार्फत नेपाली फर्किएका छन्। मलिण्डो एअरबाट १७० जना र हिमालय एअरलाइन्समार्फत १४६ जना काठमाडौं आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। मलेसियाबाट हिमालय एअरलान्सले दुई जना नेपालीको शव पनि ल्याएको छ। यस्तै हिजो नै साउदीबाट पनि दुई उडानमार्फत नेपालीहरु स्वदेश फर्किएका छन्। साउदीको रियादबाट नेपाल एअरलाइन्सको चार्टर्ड जहाजमार्फत २४७ जना स्वदेश आइपुगेका छन् भने दमामबाट हिमालय एअरलाइन्सको चार्टर्ड जहाजमार्फत १५४ जना नेपाली काठमाडौं आइपुगेका छन्।

खाडीकै अर्को देश कुवेतबाट पनि आज हिमालय एअरलाइन्सकै चार्टर्ड जहाजले त्यहाँ समस्यामा रहेका १५१ जना नेपाली ल्याएको छ। शुक्रबार कतारबाट पनि १४९ जना नेपाली स्वदेश फर्किएका छन्। कतारबाट नेपाली लिएर आएको जहाजले दुई जना नेपालीको शव पनि ल्याएको छ। एअर अरेबियामार्फत यूएईको सारजहाबाट १६७ जना नेपाली स्वदेश आइपुगेको विमानस्थलले जनाएको छ।

यस्तै आज ओमानबाट पनि सलाम एअरले नेपाली लिएर आएको छ । सलाम एअरमार्फत त्यहाँ समस्यामा रहेका १७९ जना नेपाली स्वदेश आएका हुन् । यो ओमानबाट नेपालीको स्वदेश फिर्तीका लागि भएको तेस्रो उडान हो । अन्य देशमा नेपाली एअरलाइन्सको जहाज लिन गए पनि ओमानबाट भने सरकारले तोकेकोभन्दा सस्तो मूल्यमा सलाम अएरले नेपाली स्वदेश ल्याइदिएको छ ।

यस्तै कोरियाबाट पनि कोरियन एअरमार्फत २४८ जना स्वदेश आइपुगेको विमान्स्थलले जनाएको छ। त्यहाँ समस्यामा रहेका नेपाली लिएर आएको कोरियन एअरले फर्कंदा एक बच्चासहित २०५ जना यात्रु लिएर गएको छ। कोरियाको भ्यालिड भिसा र श्रम भएकाहरु महामारीकै बीचमा पनि कोरिया गइरहेका छन्।

आजको १९ अन्तर्राष्ट्रिय उडान तालिका

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज शनिबार पनि नेपाली ल्याउन, लिन जान र नेपाली लिएर आएका जहाज फर्कनका लागि १९ वटा अन्तर्राष्ट्रिय उडान हुने भएको छ। आज १० उडानमार्फत विभिन्न देशबाट नेपालीहरु स्वदेश फर्कंदै छन्। नेपाल एअरलाइन्सले साउदी र दुबई र मलेसियाको क्लालाम्पुरबाट नेपाली लिएर आउनेछ भने हिमालय एअरलाइन्सले साउदीको दमाम र यूएईको आबुधाबीबाट नेपालीहरुलाई लिएर आउनेछ।

यस्तै टर्किस् एअरलाइन्सले इस्तानबुलबाट, इतिहाद एअरले ओमानबाट, एअर अरेबियाले यूएईको सारजहाबाट, जजिरा एअरले कुवेतबाट, हिमालय एअरले कुन्मिङबाट नेपाली लिएर आउनेछन्। यी जहाज आगमन र प्रस्थान भोलि नै हुने विमानस्थलले जनाएको छ। यस्तै आज नै हिमालय एअरलाइन्सका जहाज फिलिपिन्सको मनिला र साउदीको दमाममा त्यहाँ समस्यामा रहेका नेपाली लिन जाने तालिका पनि रहेको विमानस्थलले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*