नेपाल राष्ट्रिय व्यवसायी महासङ्घद्वारा आन्दोलनको घोषणा
काठमाडौँ। नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले सरकार विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेको छ। कोरोना भाइरसका कारण व्यापार व्यवसाय गुमाएका र आर्थिक सङ्कटमा परेका व्यवसायीहरूलाई सरकारले सहयोग नगरेको भन्दै व्यवसायीहरू आन्दोलित भएका हुन्।
बुधबार एक विज्ञप्ति जारी गर्दै महासङ्घले यसअघि सरकारले बैङ्किङ साँवा तथा ब्याज भुक्तानीको समय सीमा थप गरी कर्जाको ब्याजमा २ प्रतिशतको छुटसहित घरभाडा छुटको घोषणा गरेपनि कार्यान्वयन नभएको भन्दै सो प्रतिवद्धता अविलम्ब पूरा गर्न आग्रह गरेको छ।
सरकार विरुद्धको आन्दोलन घोषणा गरेको महासङ्घले पहिलो चरणमा भोलि बिहीबार ९ बजे माइतिघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने जनाएको छ। त्यसपछि सरकार कसरी प्रस्तुत हुन्छ सोही अनुसार अघि बढ्ने महासङ्घको जनाएको छ।



















