अमेरिका औपचारिक रुपमा डब्लूएचओसँग भयो अलग
एजेन्सी। अमेरिकाले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) सँग औपचारिक रूपमै सम्बन्ध तोडेको छ। कोरोना महामारी नियन्त्रण गर्न नसकेको तथा चीनसँग मिलेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओसँग नाता तोड्ने तथा उसलाई दिने अनुदान अन्य क्षेत्रमा लगाउने यसअघि नै घोषणा गरेका थिए।
त्यसपछि डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानम गेब्रियससले संस्थालाई सबैभन्दा बढी अमेरिकाकै मद्दतको जरुरी रहेको बताउँदै त्यसो नगर्न अनुरोध गरेका थिए। अन्तर्राष्ट्रिय समुदाय तथा स्वयं अमेरिकाका कतिपय बुद्धिजीवीले पनि यस्तो निर्णय घातक हुने चेतावनी दिएका थिए। तर ट्रम्पले आफ्नो निर्णय परिवर्तन गरेनन्। साथै डब्लूएचओसँग अलग हुने जानकारीसहित औपचारिक पत्र नै पठाएका हुन्।
संयुक्त राष्ट्र सङ्घले अमेरिकाले जुलाई ६ मा यस बारेमा औपचारिक जानकारी दिएको बताएको छ। तर पनि यो प्रक्रिया पुरा हुन लगभग एक वर्षको समय लाग्ने बताइएको छ। अमेरिकाको विपक्षी सांसदले भने ट्रम्पको यो निर्णयको आलोचना गर्दै यसले अमेरिकाको नागरिकको हितमा नरहेको प्रतिक्रिया दिएका छन्।



















