सरिता गिरीलाई पार्टीले कारबाही गर्यो, सांसद र पार्टी सदस्य दुबै पद नरहने

काठमाडौँ। समाजवादी पार्टी केन्द्रीय कार्य समितिले सरिता गिरीलाई पार्टीको साधारण सदस्य र सांसद समेत नरहने गरी कारवाहीको निर्णय गरेको छ। आज बसेको समाजवादी पार्टी पदाधिकारीको बैठकले महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा गठित कार्यदलको सिफारिसका आधारमा गिरीमाथि कारबाही गरिएको जनाइएको छ।
यसअघि समाजवादी पार्टीले लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा मतदान गर्न ह्वीप जारी समेत गरेको थियो। नेपालको नयाँ नक्सा जारी हुँदा गिरीले पार्टीको ह्वीप उल्लङ्घन गर्दै मतदान प्रक्रियामा सहभागी नभइ सांसद समेत बहिष्कार गरेकी थिइन्।
सो घटनाको विषयमा छानबिन गर्न समाजवादी पार्टीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल बनाएको थियो। कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए। कार्यदलले गिरीलाई पार्टी सदस्य र सांसद पदबाट हटाउने गरी कारबाही गर्न पार्टी केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ। पार्टी ह्वीप उल्लङ्घन गरेको आरोपमा गिरीलाई कारबाहीका गरिएको हो। अब समाजवादीले यससम्बन्धी जानकारी निर्वाचन आयोग र संसद्मा पठाउनेछ।