नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार नाघ्यो
काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना समक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार १ सय ६८ पुगेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएका सङ्क्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। भने, उनीहरु चिकित्सकको निगरानीमा रहेका छन्। सङ्क्रमण पुष्टि भएकाहरू सम्पर्कमा रहेकाहरूको र कन्ट्याक ट्रेसिङ गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ।
नेपालमा अहिले सम्म कोरोना भाइरस सङ्क्रमणका कारण ३५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ६८८ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै कोरोना सङ्क्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको सङ्ख्या ७ हजार ४९९ जना पुगेको छ। नेपालमा सोमवार १८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।
उपत्यकामा २८ सङ्क्रमित
उपत्यकामा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा सङ्क्रमण पुष्टि भएको छ। यस्तै पाटन अस्पतालको प्रयोगशालामा भक्तपुर ४ जना, काठमाडौँ १२ जना, ललितपुरका १० जनामा कोरोना सङ्क्रमण भएको छ। यस्तै त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा काठमाडौंका १ जनामा सङ्क्रमण पुष्टि भएको छ।


















