आज बस्ने मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकको नियुक्त गर्ने
काठमाडौँ। आज मन्त्रिपरिषद् बैठक बस्दैछ। अपरान्ह ४ बजे बस्ने बैठकले नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनौट गर्ने जनाइएको छ। हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन्। उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउदैछन्।
नयाँ महानिरीक्षक बन्ने दौडमा एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल छन्। थापाको सङ्गठनमा इमानदार अधिकृतका रुपमा छवि छ भने पाल कमान्ड कन्ट्रोलका कारण चिनिन्छन्। दुवै एआईजीले सरकारले जसलाई महानिरीक्षकमा बढुवा गरे पनि स्वीकार्ने बताएका छन्। त्यसैको छनक दिँदै थापा र पाल सार्वजनिक कार्यक्रममा पनि एकसाथ जाने गरेका थिए।


















