ओली–प्रचण्ड भेटवार्ता सकियो, पार्टी फुटाउन नहुनेमा एकमत
काठमाडौँ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको शीर्ष नेताहरूबीचको बैठक सकिएको छ। पछिल्लो समय पार्टीभित्र भएको आन्तरिक विवाद मिलाउन भन्दै आज बिहान बसेको बैठकमा विवाद समाधानबारे छलफल गरेको थियो।
पार्टीभित्रको आन्तरिक विवाद मिलाएर अघि बढ्नेमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक रहेको स्रोतको दावी छ। पार्टी आन्तरिक द्वन्दमा फसेका बेला विभिन्न तरिकाबाट सहमति जुटाउने प्रयासहरू भइरहेका छन्। त्यही सहमति जुटाउनको लागि आजको लागि तोकिएको स्थायी कमिटी बैठक समेत आगामी बुधवारसम्मका लागि सारिएको छ। आन्तरिक किचलोका बीच पार्टी फुट्ने शङ्का गरिएका बेला पार्टी फुटाउन नहुनेमा नेताहरू एकमत भएको स्रोतले जनाएको छ।
यसअघि आइतबार पनि उनीहरूबीच लामो छलफल भएको थियो। अध्यक्षद्वयले सहमतिको प्रयास गर्ने भन्दै नेकपा बैठक असार १८ गतेदेखि स्थगित छ। शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डले सहमतिका लागि आलोपालो सरकारको नेतृत्व गर्ने २०७५ जेठ २ गते भएको सहमतिमा फर्किन प्रस्ताव गरेका थिए।
ओलीले भने प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने गरी २०७६ मङ्सिरमा भएको निर्णयअनुसार त्यसलाई थप परिभाषित गरेर जाने प्रस्ताव राखेका थिए। दुवैले राखेका प्रस्तावमा एकअर्को पक्ष सहमत भइसकेको छैन।


















