६ महिनादेखि बन्द रहेको रसुवागढी नाका आजबाट एकतर्फी सञ्चालनमा

वेलकम खबर
असार २२, २०७७

काठमाडौँ। गत माघ १५ देखि बन्द रहेको रसुवागढी  नाका सञ्चालनमा आएको छ। ६ महिनादेखि बन्द रहेको उक्त नाका सोमबार बिहानदेखि सञ्चालनमा आएको हो। रसुवागढी भन्सार कार्यालय टिमुरेका अनुसार बिहान ८ बजेबाट नाका सञ्चालनमा आएको छ।

चिनीयाँ पक्षले सामाग्री मितेरी  पुलसम्म ल्याइदिएसँगै रसुवागढी नाका एकतर्फी  रुपमा सञ्चालनमा आएको बताइएको छ।  चिनीयाँ पक्षकै चार वटा गाडीमा सामान आएको जनाइएको छ। उच्च स्वास्थ्य सतर्कता अपनाएर सामान नेपाल भित्र्याइँदै गरिएको र पहिलो दिन आज चिनीयाँ पक्षकै ४ वटा गाडीमा १ सय २० टन सामान नेपाल भित्रिने पनि जनाइएको छ।

असार १० गते मितेरी पुलमा भएको बैठकमा चिनीयाँ पक्षले राखेको शर्त अनुसार नेपालमा आउने सामान चीनले आफ्नै कन्टेनर, चालक र लेबर प्रयोग गरि मितेरी पुलसम्म ल्याइदिने सहमति भएको थियो। तर, अनलोड भएको सामान लिन जाने चालक र सहयोगीको कोरोना परीक्षण अनिवार्य रहेको हुनुपर्ने चीनले शर्त राखेको थियो। सोही अनुसार नेपाली पक्षले १५ जना चालक र १५ जना लेबरको कोरोना परीक्षण गरि क्वारेन्टाइनमा  राखेको थियो।

२०७१ मंसिर १५ देखि रसुवागढी नाका सञ्चालनमा आएको हो । भूकम्पपछि रसुवागढी र तातोपानी नाका बन्द भएको थियो । रसुवागढी नाकालाई २०७४ भदौ १४ गते चीन सरकारले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी र सवारी साधनको चाप बढ्दै गएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*