भिक्षु ज्ञानपूर्णिक महास्थविरको निधन, मन्त्री योगेश भट्टराईद्धारा श्रद्धाञ्जली प्रकट 

वेलकम खबर
असार २२, २०७७

काठमाडौँ। नेपालका सातौँ संघनायक डा. भिक्षु ज्ञानपूर्णिक महास्थविरको ८१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। लामो समयदेखि मधुमेह रोगबाट पीडित उनी बुद्धधर्मको प्रचारप्रसारमा आजीवन समर्पित थिए । बुद्ध जन्मभूमि नेपाल चिनाउन विश्वका विभिन्न देशमा प्रचार प्रसारमा लागेका भिक्षु महास्थविरको शुक्रबार बिहान निधन भएको हो।

उनको निधन प्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एक विज्ञप्ति मार्फत श्रद्धाञ्जली प्रकट गरेका छन्। उनको असामयिक निधनको खबरले आफू अत्यन्तै मर्माहत भएको पनि विज्ञप्ति मार्फत  उल्लेख गरेका छन्। साथै नेपाली बौद्ध सङ्घको नेतृत्व गरी अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा भगवान गौतम बुद्धको जन्मस्थल एवम् विश्‍वशान्तिको मुहान लुम्बिनीको सन्देश प्रचार विश्व सामु पु¥याउन गरेको योगदान प्रति उच्च सम्मान व्यक्त गर्दै विश्व शान्ति विहार तथा बौद्ध–विद्यालय एवम् लुम्बिनी बौद्ध विश्वविद्यालयको सम्बन्धन प्राप्त थेरवाद बुद्धिष्ट एकेडेमीको स्थापनामा पनि उनको अतुलनीय योगदान रहेको उल्लेख गरेका छन्।

६ मंसिर १९९६ सालमा पाल्पाको तानसेनमा जन्मिएका सूर्यलाल शाक्य र चन्द्रमाया शाक्यका छोरा हिरालाल शाक्यलाई आमा चन्द्रमायाले भिक्षु बनाउन ११ वर्षको उमेरमा भिक्षु बुद्धघोष महास्थविर अर्थात नेपालका पाँचौँ सङ्घ नायकलाई जिम्मा लगाएको बताइएको छ। १६ वर्षमा बुद्धधर्मको उच्चशिक्षा त्रिपिटक अध्ययनका लागि उनी भारत हुँदै बर्मा पुगे। बर्मामा बुद्ध शिक्षा र भारतमा संस्कृत शिक्षा प्राप्त गरेका भिक्षुले नेपालमा पनि त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको शिक्षा लिएको जनाइएको छ।

बर्मामा बौद्ध काउन्सिलको प्रकाशन संस्थामा औपचारिक सरकारी स्तरमा रही पालि बर्मिज विश्व शब्दकोशको सम्पादन गरेका उनले ६० भन्दा बढी बौद्ध साहित्य ग्रन्थहरू अनुवाद, सम्पादन तथा लेखन गरी प्रकाशनमा ल्याएको बताइन्छ। एशियाका मलेसिया, जापान, साइबेरिया, इन्डोनेसिया, सिङ्गापुर, श्रीलङ्का, थाइल्याण्ड तथा युरोप, अमेरिका र अष्ट्रेलिया महादेश सम्म पुगी उनले बुद्ध शिक्षा र ध्यानको प्रचार प्रसार गरेको जनाइएको छ।

संघ उपनायक पदको जिम्मेवारीमा रहेका उनी छैठौं संघनायक भिक्षु अश्वघोष महास्थविरको देहावसान पश्चात् १ वैशाख २०७६ अखिल नेपाल भिक्षु महासंघबाट नेपालको सातौं संघनायक भएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*