ताप्लेजुङमा थप दुईजनामा कोरोना सङ्क्रमणको पुष्टि
ताप्लेजुङ। ताप्लेजुङमा दुई जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ। पीसीआर विधिबाट स्वास्थ्य परीक्षणका लागि स्वाब सङ्कलन गरी पठाइएका २० जनामध्ये दुई जनामा सङ्क्रमण पुष्टि भएको हो।
स्वास्थ्य कार्यालय ताप्लेजुङका अनुसार फुङ्लिङ नगरपालिका–८ की महिला र पाथीभरा याङ्वरक गाउँपालिका–५ चाक्सिबोटेका एक पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो। कोरोना सङ्क्रमण देखिएको दोखुकी महिला कतारबाट र चाक्सिबोटेका पुरुष दुबईबाट केही दिनअघि स्वदेश फर्किएका थिए। स्वदेश फर्किएसँगै जिल्ला आइपुगेपछि उनीहरूलाई सदरमुकाम फुङ्लिङस्थित ताप्लेजुङ उद्योग वाणिज्य सङ्घको क्वारेन्टाइनमा राखिएको थियो।
कोरोना पुष्टि भएका दुई जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको र उनीहरूलाई जिल्ला अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचारको व्यवस्था गरिएको जनाइएको छ। यसअघि साउदी अरबबाट फर्किएका सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनका एकजना पुरुषमा जिल्लामा पहिलो पटक कोरोना पुष्टि भएको थियो।
नेपालमा कोरोना भाइरसको कुल सङ्क्रमित सङ्ख्या १५ हजार ७८४ पुगेको छ। भने ३५ जनाको मृत्यु भएको छ। साथै ६ हजार ५४७ जना डिस्चार्ज भएका छन्।



















