ओली-प्रचण्ड वार्ता सकारात्मक, बाँकी भोलि
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद मिलाउने प्रयास स्वरुप भएको वार्ता सकारात्मक दिशामा अघि बढेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अधयक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूबीचको बैठकमा एकताको मर्मअनुरुप अघि बढ्ने समझदारी बनेको छ।
दिउँसो साढे १२ बजेदेखि साढे २ बजेसम्म भएको छलफलले कुनै ठोस निष्कर्ष ननिकाले पनि बैठक सकारात्मक दिशामा अघि बढेको र भोलि फेरि अर्को छलफल गर्ने सहमति भएको जनाइएको छ। थप छलफल गरेर दुबै पक्षलाई मिलाएर अघि बढ्ने आधार तयार भएको पनि बताइएको छ। नेकपा स्थायी कमिटीको बैठक शनिबार बिहान ११ बजे बस्दैछ। त्यसअघि दुई अध्यक्षबीच पुनः छलफल हुने नेताहरूले बताएका छन्।
पछिल्लो समय पार्टीभित्र बढ्दै गएको असन्तुष्टिका कारण पार्टी नै फुटको सङ्घारमा पुगेको भन्दै नेताहरूबाट गम्भीर चिन्ता र चासो प्रकट भएपछि पार्टी एकतालाई जोगाउन ओली र प्रचण्डबीच छलफल भएको हो। छलफलमा ओली प्रचण्ड बाहेक महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा पनि सहभागी थिए।


















