आज दही चिउरा खाने दिन अर्थात राष्ट्रिय धान दिवस
काठमाडौँ। प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ। वि सं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती नै रहेको छ।
यस वर्ष कोरोना महामारीका बाबजुद पनि धान दिवस मनाइँदै छ। कृषि अनुसन्धान परिषदको परिसरमा व्यक्तिगत दूरी कायम राखी धान दिवस मनाइने कृषि विभागले जनाएको छ। असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ। खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँने गर्दछन्।
मध्य गर्मीको यो समयमा युवा युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने गर्छन्। कामको चटारोले थकित भएका किसान शक्तिप्रतिका लागि दही च्यूरा खान्छन्। दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रूप लिएको छ। यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ।
यस वर्ष प्रिमनसुन सिजनदेखि नै पर्याप्त पानी परिरहेकाले मध्य असारसम्म आइपुग्दा २५ प्रतिशत रोपाइँ सकिइसकेको कृषि विभागका अधिकारीहरू बताउँछन्।


















