पर्यटनमन्त्रीद्वारा बनकाली क्षेत्रकाे निरिक्षण
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्ट्राईले आज पशुपति बनकाली क्षेत्रमा पुगेर त्यहाँ रहेको विश्वरुपा मन्दिरको अवस्थाको निरीक्षण गरेका छन्।
१ सय ५८ बर्ष पुरानो सो मन्दिर क्षतिग्रस्त र वेवारिसे अवस्थामा रहेको भन्दै सामाजिक संजालमा टिप्पणी आएपछि मन्त्री भट्ट्राई आफै पशुपति वनकाली पुगि एक हप्ताभित्र मन्दिरमा अस्थायी छानो हालेर घामपानीबाट यसलाई जोगाउन र यसको दिर्घकालीन संरक्षणका लागि तत्काल स्थायी संचरना निर्माण प्रकृया थाल्न निर्देशन दिए।
मन्त्रालयका सचिव केदारबाबु अधिकारी, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमसमेत लाई लिएर पशुपति पुगेका मन्त्री भट्ट्राईले कोषका पदाधिकारीहरुलाई निर्देशन दिदैं भने, ‘अर्को हप्ता म फेरी निरीक्षणमा आउछु, त्यो बेला अस्थायी संचरना निर्माण गरेर यसको उचित संरक्षण गरिएको हुनुपर्छ।’ साथै, उनले दक्ष कालिगढ मार्फत तुरुन्त यसको बिग्रिएको स्वरुप पुरानै स्वरुप र शैलीमा ढाल्न पनि कोषलाई निर्देशन दिए।
गुम्बज शैलीमा निर्माण गरिएको यो मन्दिर वि सं १९१९ मा जंगबहादुर राणाले स्थापना गरेका हुन्। नेपाल–भोटवीचको युद्ध बाट फर्कने क्रममा बाटोमा भेटीएको भैरवको मुर्ति यस मन्दिरमा स्थापना गरिएकाले यसको ऐतिहासिक, धार्मिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण विशेषता रहेको बताईन्छ।



















