संविधानमा नक्सा छापेकै भरमा प्रधानमन्त्रीलाई कसैले हटाउँछु भन्ने सपना नदेखे हुन्छ : प्रधानमन्त्री
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा छापेर संविधान संशोधन गरेबापत आफूलाई हटाउने षड्यन्त्र भइरहेको बताएका छन्। तर नेपालको राष्ट्रियता त्यति कमजोर नरहेको उनको जिकिर रहेको छ।
जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा ओलीले देशको पक्षमा बोल्दा आफूलाई हटाउने निर्णय गरे भोलि अर्को प्रधानमन्त्री पनि बोलेकै भोलिपल्ट बर्खास्त हुने अवस्था आउने बताए।
उनले भने, ‘संविधानमा नक्सा छापेकै भरमा प्रधानमन्त्रीलाई कसैले हटाउँछु भन्ने सपना नदेखे हुन्छ। यसमा कसैले हतार नगरे हुन्छ। मलाई प्रधानमन्त्रीको कुर्सीमा बसिरहने मन छैन, तर आजको लागि होइन भोलिका लागि, आफ्ना लागि होइन देशका लागि बसेको छु।’ कुर्सीमा बसेरै मिचिएको भूमि फिर्ता ल्याउने प्रधानमन्त्रीले प्रतिबद्धता जनाए।
उनले मदन भण्डारीको विचारले समाजलाई यहाँसम्म ल्याएको पनि बताए। नेकपा अध्यक्षसमेत रहेका ओलीले भने, ‘जनताको शासन बनाउन मदन भण्डारी लड्नुभएको थियो, अहिले हामीले त्यो प्राप्त गरेका छौं।’ ओलीले मदन भण्डारीले समानता र लोकतन्त्रका लागि लडेको भन्दै उनको योगदानको प्रशंसा पनि गरे।



















