आज जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्ती
काठमाडौँ। तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती आज मनाइँदैछ। पार्टीनिकट अन्य संस्थाहरूले पनि विविध कार्यक्रम गरी जन्मजयन्ती मनाउँदैछन्। विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद’ (जबज) को सिद्धान्त प्रतिपादन गरी उनी जनतामाझ लोकप्रिय हुन सफल भएका थिए।
भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो। जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ। भण्डारीको २०५० जेठ ३ गते दासढुङ्गा भएको जिप दुर्घटनामा परी दुःखद निधन भएको थियो। उनको दुर्घटनामा परी निधन भएको भन्दा पनि धेरैले हत्या भएको बताउँदै आइरहेका छन्। उक्त घटनालाई लिएर विभिन्न टिकाटिप्पणी भए पनि हालसम्म ठोस निष्कर्ष भने निस्कन सकेको छैन।
‘जबज’को जग र सशस्त्र जनयुद्धको अनुभवपछि गत जेठ ३ गते भण्डारीको निधन भएको दिन एमाले र नेकपा (माओवादी केन्द्र) को एकता भई हालको नेकपा गठन भएको छ। आज मदन भण्डारीको जन्मजयन्ती भएका कारण नेकपा स्थायी कमिटी बैठक स्थगित गरिएको छ।


















