नेपालको जनसङ्ख्या ३ करोड नाघ्यो
काठमाडौँ। नेपालको जनसङ्ख्या ३ करोड नाघेको छ। केन्द्रीय तथ्याङ्क विभागको वेबसाइटमा राखिएको क्याल्कुलेटरले शुक्रबार नेपालको जनसङ्ख्या ३ करोड नाघेको देखाएको हो। जसअनुसार नेपालको जनसङ्ख्या ३ करोड ६३४ पुगेको छ।
२०६८ सालको जनगणना अनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ५४ हजार पाँच सय चार थियो। १२ औं राष्ट्रिय जनगणना २०७८ असारमा गर्ने सरकारको तयारी छ। नेपालमा प्रत्येक दश वर्षमा जनगणना हुने गरेको छ। २०६८ सालको जनगणनामा नेपालको जनसङ्ख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो।
विभागका अनुसार यो वैज्ञानिक आधारमा प्रक्षेपण गरिएको जनसङ्ख्या हो। यो घडी २०६८ को जनगणनाको आधारमा सेट गरिएको जनाइएको छ। घडीले जन्मदर, मृत्युदर र बसाइँसराइ दरको आधारमा जनसङ्ख्या देखाउने गर्दछ।


















