विश्वमा पहिलो पटक भर्खर जन्मेको तिम्ल्याहा बच्चामा कोरोना पोजेटिभ, आमा बुबामा भने नेगेटिभ

एजेन्सी। मेक्सिकोमा सोमबार जन्मेका तिम्ल्याहा बच्चा कोरोना भाइरसको परीक्षणमा पोजेटिभ देखिएको छ। तर, आमाबाबु दुवैको परीक्षणको नतिजा भने नेगेटिभ आएको पोटोसी राज्यका स्वास्थ्य सचिवले जनाएको छ। स्वास्थ्य अधिकारीहरूले यस्तो घटना पहिलो पटक सुनेको र उनीहरु कसरी सङ्क्रमित भए भनेर अनुसन्धान सुरु भइरहेको जनाइएको छ।
दुवै आमा बुबाको पीसीआर परीक्षणपछि यो घटना हाम्रा स्वास्थ्यकर्मी मात्र नभएर विश्वभरका अनुसन्धानकर्ताहरूका लागि भाइरसको व्यवहार बुझ्नका लागि राम्रो उदाहरण हुनसक्ने स्वास्थ्य सचिव मोनिका लिलियाना मार्टिनेजले बताएकी छिन्।
ती तीन तिम्ल्याहा इग्नासियो मारोनेस प्रीएटो सेन्ट्रल अस्पतालमा समय अगावै जुन १७ मा जन्मिएका थिए। सोही दिन परीक्षण गर्दा कोरोना भाइसको सङ्क्रमण देखिएको हो। उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार एक बच्चामा श्वासप्रश्वासको समस्या देखिएपनि समस्या गम्भीर नरहेको बताइएको छ। आमाको स्वास्थ्यमा पनि सुधार भइरहेको जनाइएको छ।
विश्वमा पहिलो पटक यसरी एकभन्दा बढी बच्चा जन्माउँदा एकैपटक सङ्क्रमण देखिएको हो। मेक्सिकोमा हालसम्म १ लाख ८५ हजार १२२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिसकिएको छ भने २२ हजार ५ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्।