आज विभिन्न देशबाट ६४० नेपाली स्वदेश आइपुगे
काठमाडौँ। आज विभिन्न पाँच देशबाट चार्टर्ड उडानमार्फत ६४० जना नेपाली स्वदेश फर्किएका छन्। कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा स्वदेश फर्कन नपाएका र रोजगारीका लागि गएकाहरू फर्किएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार कतारको दोहाबाट हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १४४ जना नेपाली आज स्वदेश फर्किएका छन्।
त्यस्तै आज नै कुवेतको जजिरा एअरलाइन्सको चार्टर्ड उडानमार्फत त्यहाँ आममाफीमा सहभागी १६० जना नेपालीलाई निःशुल्क काठमाडौं सम्म ल्याइएको छ। यस्तै बैङ्ककबाट पनि ७८ जना स्वदेश फर्किएका छन्। नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत उनीहरु नेपाल फर्किएका हुन्। साथै आज नै अस्ट्रेलियाको सिड्नीबाट रोकिएका नेपालीहरू स्वदेश फर्किएका छन्। नेपाल एअरलाइन्सको चार्टर्ड वाइडबडी जहाजमार्फत २५८ जना आज स्वदेश फर्किएका हुन्।
भोलि विभिन्न ५ देशबाट नेपाली स्वदेश फर्कनेछन्। विमानस्थलका अनुसार हिमालय एअरलाइन्समार्फत साउदीको दमामबाट १५४ जना हिमालयकै चार्टर्ड उडानमार्फत यूएईको आबुधाबीबाट एक सय ५४ जना हिमालय एअरलाइन्सकै चार्टर्ड उडानमार्फत कुवेतबाट पनि १५४ जना नेपाली स्वदेश फर्कने जनाइएको छ।
भोलि साउदीको जेद्दाबाट पनि नेपालीहरू फर्कँदैछन्। नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत नेपालीहरू फर्कने तालिका रहे पनि कति नेपाली फर्कन्छन् भन्ने खुलाइएको छैन। इस्तानबुलबाट टर्किस एअरलाइन्समार्फत २८० जना फर्कने तालिका रहेको छ। नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सका जहाज भोलि पाँच ठाउँमा नेपाली लिन जानेछन्। भोलि राति हिमालय एअर यूएईको आबुधाबी र कतारको दोहा जाँदैछ भने नेपाल एअरलाइन्स जापानको नारिता, कुवेत र साउदीको जेद्दा जाने उडान तालिका रहेको जनाइएको छ।


















