नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो, २४ जनाको मृत्यु
काठमाडौँ। नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भए सँगै कुल सङ्क्रमितको सङ्ख्या १० हजार ९९ पुगेको छ। सङ्क्रमित मध्ये ९० जना महिला र ४४८ पुरुष रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै, विभिन्न अस्पतालबाट पछिल्लो २४ घण्टामा ७६ जना डिस्चार्ज भए सँगै नेपालमा हालसम्म २ हजार २ सय २४ जना उपचार पछि निको भएका छन्।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा १ को मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण मृत्यु हुनेको जम्मा सङ्ख्या नेपालमा २४ पुगेको छ। मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुने पछिल्ला व्यक्ति दैलेखको दुल्लु निवासी हुन्। उनी ४५ वर्षका थिए। उनी क्षयरोग तथा दमको बिरामी रहेको बताइएको छ।


















