होम क्वारेन्टाइनमा मृत्यु भएका गुल्मीका पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि
गुल्मी। होम क्वारेन्टाइनमा बसेका बेला मृत्यु भएका गुल्मीका ६९ वर्षीय पुरूषमा कोरोना पोजेटिभ देखिएको छ। करिब दुई हप्ताअघि भारतको मुम्बईबाट आई होम क्वारेन्टाइनमा बसेका छत्रकोट गाउँपालिकाका ती पुरूषको बिहीबार राति मृत्यु भएको हो।
मुम्बईबाट आएका उनलाई प्यारालाइसिसको समस्या रहेपछि गाउँपालिकाको वडा नम्बर ५ मैनडाँडामा रहेको घरमै रेखदेख गर्नेगरी राखिएको थियो। उनलाई घरमा ल्याएपछि नै आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएको भए पनि पिसिआर परीक्षणको लागि भने शुक्रवार बिहानमात्र उनको स्वाब सङ्कलन गरिएको थियो।
स्वाब भैरहवा पठाएर परीक्षण गरी रिपोर्ट आउन समय लाग्ने भएकोले उनको शवलाई नेपाली सेनाको टोलीले शुक्रबार बिहान व्यवस्थापन गरेको थियो। स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ पुष्टि भएपछि उनको रेखदेखमा संलग्न परिवारका सदस्यहरूको समेत पिसिआर परीक्षण गरिने बताइएको छ।


















