७ वर्षपछि मात्र विदेशी बुहारीलाई अङ्गीकृत नागरिकता दिने नेकपाको निर्णय

वेलकम खबर
असार ६, २०७७

काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विदेशी बुहारीलाई विवाह गरेको ७ वर्षपछि मात्रै अङ्गीकृत नागरिक दिने निर्णय गरेको छ। शनिबार विहान बसेको नेकपा सचिवालयको बैठकले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अङ्गीकृत नागरिकता दिने व्यवस्थामा सहमति जुटाएको हो। ७ वर्षसम्म सामाजिक, सांस्कृतिक, आर्थिक सम्पूर्ण अधिकार विवाह गरेको दिनदेखि नै प्राप्त गर्नसक्ने गरी आवासीय परिचयपत्र भने प्रदान गरिनेछ।

विदेशी ज्वाइँलाई पनि अङ्गीकृत नागरिकता दिनुपर्ने नेकपा महिला सांसदहरूको माग भने अस्वीकृत भएको छ। संसद्को राज्य व्यवस्था समितिमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलमा सहमति हुन नसकेपछि नेकपाले सचिवालय बैठकबाट ७ वर्षको प्रावधान राख्ने निर्णय गरेको हो। काङ्ग्रेसले भने यसमा असहमति जनाएको छ।

यसअघि ऐनमा नेपाली नागरिकसँग विवाह गरेर आउने बुहारीले सम्बन्धित देशको नागरिकता त्यागेर नेपाली नागरिकता प्राप्तिको प्रक्रिया अगाडि बढाउन कुनै समय सीमा निर्धारण गरिएको थिएन। नागरिकता संशोधन विधेयक लामो समयदेखि संसद्‌मा विचाराधीन रहेको छ।

नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा दुई वर्षदेखि अडकिएको छ। समितिमा अहिले अङ्गीकृत नागरिकताको विषयमा नै छलफल भइरहेको छ। अधिकांश विषयमा सहमति भए पनि वैवाहिक अङ्गीकृतबारे सहमति जुट्न सकेको थिएन। समितिको छलफलमा सहमति जुट्न नसकेपछि गृहमन्त्री रामबहादुर थापाले राजनीतिक सहमतिका लागि भन्दै एक हप्ताको समय मागेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*