सामूदायिक वनले गरेको कामको प्रशंसा

वेलकम खबर
जेष्ठ २४, २०७७

ताप्लेजुङ,  । ताप्लेजुङस्थित सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले गरेको कामको सरोकारवालाले प्रशंसा गरेका छन् । फेकोफन जिल्ला महासङ्घ ताप्लेजुङले भौतिक पूर्वाधारसहितका उपलब्धिमुलक काम गरेकोभन्दै सरोकारवालाले प्रशंसा गरेका हुन् ।
एकवर्षे कामको समीक्षा तथा आगामी योजनाका बारेमा सरोकारवालाको सुझाव सङ्कलन गर्ने उद्देश्यले फेकोफन जिल्ला महासङ्घले शनिबार आयोजना गरेको सार्वजनिक सुनुवाइमा सहभागी सरोकारवालाले हालसम्म गर्दै आएको कामको प्रशंसा गरेका हुन् । धेरै गैर सरकारी संस्थाहरुले मोटो रकमको कार्यक्रम गर्दै आएको पाइए पनि उनीहरुले प्रत्यक्ष प्रभाव पार्ने भौतिक उपलब्धिका कामहरु नगरेको पाइएको सरोकारवालाले बताएका छन् ।
अधिकांश संस्थाले तालिम, गोष्ठीजस्ता कार्यक्रममै मोटो रकम खर्च गर्ने गरेकाले त्यसखालको काम प्रभाव पार्ने कार्य अर्थात परिणाममुखी कामको रुपमा लिन नसकिने उनीहरको भनाइ छ । फेकोफनले भने धेरै भौतिक पूर्वाधार लगायतका काम गर्दै आएकाले यस्तो कार्यले सबैखाले समुदाय तथा उपभोक्तालाई राहत पुग्ने सरोकारवालाले बताएका छन् ।

वन, जङ्गल, वातावरण तथा प्रकृतिको संरक्षणसँग सम्बन्धित पानीको मुहान् संरक्षण, पोखरी संरक्षण तथा निर्माण, पदमार्ग निर्माणजस्ता कार्यहरु गर्नु प्रशंसनीय र उदाहरणीय कार्य भएको सरोकारवालाको ठहर छ । आगामी दिनमा पनि अझ जनतालाई प्रत्यक्ष र पछिसम्म प्रभाव पुग्ने खालका कार्यक्रमहरु गर्न सरोकारवालाले सुझाव दिएका छन् ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा फेकोफन जिल्ला महासङ्घका अध्यक्ष सुरज ओझाले चालू आर्थिक वर्ष २०७६÷७७ मा गरेको कामको भौतिक तथा बित्तीय प्रगगितबारे जानकारी गराएका थिए । तीनजुरे–मिल्के–जलजले संरक्षण क्षेत्र आयोजनाको आर्थिक सहयोगमा विभिन्न कार्यहरु गरेको ओझाले बताए ।

ओझाका अनुसार कुल ७९ लाख ४२ हजार २९० रुपियाँ बजेटको कार्यक्रममा ७९ लाख १३ हजार ८४७ रुपियाँ बराबर खर्च गरी ९९.६४ प्रतिशत प्रगति हासिल भएको छ ।
फेकोफनले सामूदायिक वनको कार्ययोजना नवीकरण तथा उनीहरुको कार्ययोजना कार्यान्वयनमा सहयोग, समुदाय तथा उपभोक्ताको क्षमता विकास, समूहको कार्यालय सञ्चालनजस्ता काममा सहयो गरेको छ । त्यस्तै पानीका स्रोत व्यवस्थापन, वन सम्वद्र्धनका कार्यक्रम, सार्वजनिक जग्गा तथा सडक किनारमा वृक्षरोपण, वनमा आधारित उद्यमलाई संस्थागत सहयोग, घाँसे मैदानको सुबिधा सुधार, समुदायमा आधारित चोरी शिकारी नियन्त्रण इकाइ गठन तथा उनीहरुलाई चाहिने व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्रीमा सहयोग लगायतका कार्यक्रम फेकोफनले सञ्चालन गरेको छ ।

फेकोफोनले संरक्षण सम्बन्धी जनचेतनामूलक कार्य, इको क्लबको माध्यमबाट बिद्यालयमा वातावरण शिक्षा कार्यक्रम सञ्चालन, सामूदायिक वन उपभोक्ता समूह तथा संस्थाको सार्वजनिक सुनुवाई तथा सामाजिक लेखा परीक्षण, वन पैदावारको औद्योगिक मेला प्रदर्शनी, कार्यक्रम व्यवस्थापन तथा अनुगमन सहितका कार्यक्रम सञ्चालनमा आएको फेकोफनले जनाएको छ । भौतिक पूर्वाधारतर्फ पर्यटन पदमार्गको प्रवद्र्धन तथा सुधार, बिश्रामस्थलको निर्माण तथा सुधार, पर्यटनसँग सम्बन्धित होर्डिङबोर्ड स्थापना लगायतका कार्य गरेको फेकोफनका जिल्ला अध्यक्ष ओझाले जानकारी दिए ।
प्रगित समीक्ष तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख घनेन्द्र मादेन, प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, डिभिजनल वन अधिकृत वीरेन्द्र शाह, फेकोफोनका केन्द्रीय सदस्य कृष्णप्रसाद ओझा, फेकोफन जिल्ला महासङ्घका सल्लाहकार संयोजक वियज किराँत, पत्रकार महासङ्घ ताप्लेजुङका कार्यबाहक अध्यक्ष चन्द्र पन्दाकसहित डिभिजन वन कार्यालय तथा सामूदायिक वन उपभोक्ता महासङ्घ जिल्लाका पदाधिकारी र सदस्य लगायतका सरोकारवालाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*