कोरोना महामारीबारे ट्रम्प र सी जिनफिङ छलफल गर्दै
वासिंटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अनियन्त्रित रुपमा फैलिएको कोरोना महामारीबारे चिनियाँ राष्ट्रपतिसँग छलफल गर्ने बताएका छन् ।
अमेरिकामा संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि पत्रकार सम्मेलन गर्दै उनले चिनियाँ समकक्षी सी जिनफिङसँग टेलिफोनमार्फत कुराकानी गर्ने जनाएका हुन् । ट्रम्पले बिहीबारको पत्रकार सम्मेलनमा बताए अनुसार उनले चिनियाँ राष्ट्रपति सिसँग शुक्रबार रातको ९ बजे कुरा गर्नेछन् ।
अमेरिकामा हालसम्म ८२ हजार ४ सय ४ जना संक्रमित भेटिएका छन् । साथै एक हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । अमेरिकाको संक्रमित संख्या चीन र इटालीको भन्दा पनि धेरै हो । हालको अवस्थामा अमेरिका सबैभन्दा धेरै संक्रमित भएको देश बनेको छ । अमेरिकाले देशव्यापी लकडाउन घोषणा भने गरेको छैन ।



















