पाथीभरा सुटुक्क आए, एक वर्षमा यसैगरी बिर्सिइए

वेलकम खबर
फाल्गुन १५, २०७६

ताप्लेजुङ । ठीक एक वर्षअघि आजैको दिन ताप्लेजुङ मध्यान्ह १२ बजेसम्म सुनसान थियो । हल्लाखल्ला थिएन ।तर, साढे १ बजेतिरदेखि भने हेलिकप्टर दुर्घटनाको चर्चा सुरु भयो । त्यो पनि तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार १

सामान्यतस् बहालवाला मन्त्री जिल्ला आउँदा एक किसिमको तरंग पैदा हुन्छ। हल्लाखल्ला हुन्छ। स्थानीय प्रशासनले सुरक्षादेखि यातायातसम्मको व्यवस्था मिलाउँछ। पार्टी नेता, कार्यकर्ता स्वागत र सम्मानका लागि तयार हुन्छन्। कोही नेता आउँदै छन् जिल्लामा भन्ने सुइकोसम्म थिएन २०७५ फागुन १५ गते १ बजेसम्म। तर, साढे १ बजेपछि हेलिकप्टर दुर्घटनाको खबर जिल्ला हुँदै विश्वभर फैलियो।

पाथीभरा जानेका लागि धनकुटाको भेडेटारबाट भाडाको हेलिकप्टर दिनहुँजसो चल्थ्यो। दुर्घटनाको चर्चा चल्दा कतै यही हेलिकप्टर त दुर्घटनामा परेन भन्ने आशंका स्वभाविकै थियो। अन्ततस् प्रमाणित भयो, त्यो दुर्घटना बहालवाला मन्त्रीसहित टोलीको थियो। तेहृथुमको आठराईसम्म आएका अधिकारी सरकारलाई समेत थाहै नदिई पाथीभरा पुगेका थिए। जसरी गुमनाम पाथीभरा आए, त्यसरी नै बिर्सिइए।

दुर्घटनाको एकादुईसाता यो विषयले निकै चर्चा पायो। तर, त्यसपछिको वर्षदिन भने अधिकारी पाथीभरा आउँदाको जस्तै गुमनाम बनेको छ विषय। वर्षदिनसम्म उनको नाममा उनलाई चिन्नेगरी न एउटा शालिक बन्यो न त अन्य कुनै स्तम्भ नै। सरकारले बनाउने भनेको रवीन्द्र स्मृति पार्क निर्माणले पनि अहिलेसम्म गति लिएन। यसका लागि ७० लाख रुपैयाँ बजेट छुट्याइएको छ। त्यो मध्येको ५० लाख फुङलिङ नगरपालिकामा आएको छ। २० लाख रुपैयाँ सहरी विकास कार्यालय इलाममा छ। फुङलिङ नगरपालिका प्रमुख छत्रपति प्याकुरेल सहरी विकास कार्यालयका डिइलाई पर्खिएको बताउँछन्।

‘उहाँहरु ९सहरी विकास० सँग पनि पैसा छ, डीपीआर गर्ने जनशक्ति पनि छ,’ प्रमुख प्याकुरेलले थपे, ‘हामिसँग जनशक्ति छैन, बसेर छलफल गरौं र यो पैसाले कति काम गर्न सकिन्छ एकीकृत रुपमा काम गरौं भनेको छु।’ आर्थिक वर्ष सकिन पाँच महिना मात्रै बाँकी हुँदा पनि कामको प्रक्रिया नै सुरु भएको छैन। प्रमुख प्याकुरेलले भने आर्थिक वर्ष भित्रै डीपीआरको काम सकिने बताउँछन्। अधिकारीको स्मृति दिवस लगायतका विषयमा कुनै तयारी नभएको उनले बताए।

स्मृति पार्कका लागि फुङलिङ नगरपालिका(१० गोरुजुरे क्षेत्रलाई रोजिएको छ। सामुदायिक वनको यो क्षेत्र फाँटिलो र पाथीभरा जाने सडकको छेउमै भएकाले उपयुक्त रहेको नगरपालिकाको बुझाइ छ। काफ्लेपार्टीदेखि पाथीभरासम्म केबलकार बन्ने चर्चाले पनि नगरपालिकाले यो क्षेत्रलाई रोजेको हो। हेलिकप्टर दुर्घटना भएको क्षेत्र अहिलेको पैदलमार्ग भन्दा डेढरदुई घण्टाको दुरीमा छ। त्यहाँ जानकालागि पुरै संरचना बनाउनु पर्ने भएकाले पाथीभरा क्षेत्र विकास समितिले गोरुजुरेको सिफारिस गरेको थियो।

क्षेत्र विकास समितिका सदस्य गोपाल न्यौपाने केबलकार निर्माणपछि दुर्घटना भएको क्षेत्र थोरै मान्छेको पहुँचमा हुने भएकाले गोरुजुरे उपयुक्त भएको बताउँछन्। भालुगौंडे छेउमा रहेको यो क्षेत्र पाथीभरा जाने हरेकको पहुँचमा हुन्छ। घुम्ने र अलमलिनेका लागि उपयुक्त स्थानमा रहेको फुङलिङ(१० का वडाध्यक्ष गमबहादुर फुरुम्बु बताउँछन्। गोरुजुरे मयम पाताल र फावाखोला सामुदायिक बनमा पर्छ। सरकारबाट संरचना बनाउन अनुमति लिन डिभिजन वन कार्यालयले टिप्पणीसहितको प्रस्ताव सरकार समक्ष पठाउनु पर्छ।

आफू दोषी जस्तो ठान्छन् स्थानीय
माथिल्लो फेदी प्राथमिक उपचार केन्द्रका उमनाथ पौडेल उपचार केन्द्रतिर मान्छेहरु आउँदा पक्कै औषधि माग्न आयो भन्ने ठान्छन्। त्यहीअनुसारको तयारीमा बस्छन् उनी। उनकोमा आउने अधिकांशको पहिलो प्रश्न ‘दाई, रवीन्द्र अधिकारीको हेलिकप्टर कहाँ ठोकिएको होरु’ भन्ने हुन्छ। विरामी भएपनि त्यसपछि मात्रै औषधिको कुरा गर्छन्। घुम्न आउनेले ‘विचरा १ यस्तो ठाउँमा आएर बिते’ भन्दिँदा दोषी कतै हामी नै पो हौं कि भनेजस्तो आभास हुनेगरेको पौडेल सुनाउँछन्।
दुर्घटनाका केही महिना घटनास्थल पुग्नेको लर्को भएपनि त्यसपछि बिरानो जस्तो बनेको पौडेलले सुनाए। उनी घटनास्लथमा सबैभन्दा पहिला पुग्ने मध्येका एक थिए। घटनास्थलमा हेलिकप्टरको भग्नावशेष अहिलेसम्मपनि देख्न सकिन्छ र भग्नावशेषहरु त्यही छरिएकै अवस्थामा छन्।

परिवार कसैका आए, कसैका आएनन्
पर्यटन मन्त्री अधिकारीसँगै दुर्घटनामा ज्यान गुमाएका यति एअरलाइन्सका सञ्चालक आङछिरिङ शेर्पाको परिवार घटनास्थलसम्म पुगे। आङछिरिङका दुई छोरासहितलाई घटनास्थल पुर्‍याएका पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी इन्द्र पौडेलका अनुसार उनीहरुले बौद्ध धार्मिक विधिअनुसार लामा पढाए र तोरन टाँगे। छोरा, भाञ्जा, ज्वाईं लगायतका १२ जनाको टोलीले घटनास्थलमै पुगेर श्रद्धाञ्जली व्यक्त गरे। मन्त्रीको परिवारका सदस्यलाई भने स्थानीयले अहिलेसम्म देखेका छैनन्।

‘कोही खुसुक्क आएर गएको भए थाहा भएन, नत्र यहाँ आएको पत्तो पाएका छैनौं,’ माथिल्लो फेदी होटल व्यवसायी संघका अध्यक्ष इन्द्रनारायण भट्टराईले थपे, ‘सानो ठाउँ कोही आएको भए त हल्ला हुन्छ, थाहा भइहाल्छ नी।’ दुर्घटनास्थलमा माथिल्लो फेदीबाट मात्रै पुग्न सकिन्छ। अधिकारी पत्नी अहिले प्रतिनिधिसभा सांसद छिन्।

दुवै मन्त्री गुमनाम
हेलिकप्टर दुर्घटनामा नै परेर ताप्लेजुङमा दुईजना बहालवाला मन्त्री दिवंगत भए। २०६३ असोज ७ गते तत्कालीन वन तथा वातावरण मन्त्री गोपाल राईको लेलेपको घुन्सामा मृत्यु भएको थियो। राजदूतसहितका २४ जना संरक्षणविद्को निधन भयो। तत्कालीन सरकारले घटना भएको जिल्लामा संरचना निर्माण गर्ने चर्चा गरेको थियो। तर सरकार आफैंले भने जिल्लामा एउटा स्मृति पार्क पनि बनाएन।

पाथीभरा केबलकारको चर्चै हरायो
यती समूहका आङछिरिङ शेर्पासँग उनकै हेलिकप्टरमा आएका मन्त्री अधिकारीलाई पाथीभरामा निर्माण हुने केबलकारको विषयमा देखाउन ल्याइएको धेरैको बुझाइ छ। फुङलिङ नगरपालिकाबाट अनुमति पाएको यो समूहले सरकारको केन्द्रीय मन्त्रालयबाट अनुमति पाएको थिएन। मन्त्री आउने दिउँसो पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्प बडवालले समिति सदस्य इन्द्रनारायण भट्टराईलाई खादा लिएर मन्दिरमा जान भनेका थिए। तर, भट्टराई सदरमुकाममा भएकाले जान सकेनन्। बडवाल पनि केबलकार समूहकै हुन्। हेलिकप्टर दुर्घटनापछि केबलकारको विषय सुनसान भएको छ।

दुर्घटनाअघिसम्म प्रधानमन्त्रीलाई ल्याएर शिलान्यास गराउने, तत्काल काम थाल्ने जस्ता चर्चा चलाउनेहरु अहिले मेची राजमार्गका कारण सामान ल्याउन कठिन हुने बताउँछन्। सांसद हुँदा केबलकार निर्माण चाँडै हुने बताउने वर्तमान संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई पनि अहिले मौन छन्। निर्माण अनुमति दिएको फुङलिङ नगरपालिका प्रमुख प्याकुरेल अबको एक वर्ष म्याद बाँकी रहेको र त्यो अवधिमा काम नगरे निर्णय खारेज गर्ने बताउँछन्। नगरपालिकाले १२ लाख रुपैयाँ राजश्व लिएर अनुमति दिएको छ। तर महालेखा परीक्षकले नगरपालिकाको यो निर्णय अवैध रहेको लेखेको छ। राष्ट्रपति कार्यालयमा गत वर्ष बुझाइएको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ।

मौसम गतवर्षको जस्तै
गतवर्ष पनि यो समयमा पाथीभरामा टम्म हिउँ थियो। स्थानीयका अनुसार दुर्घटना भएको समयमा हावा, हुण्डरी सहितको हिउँ बर्सिएको थियो। त्यही समयमा हेलिकप्टर पड्किएको आवाज स्थानीयले सुनेका थिए।

आवाज सुनेका र आगोको मुस्लो देखेपछि स्थानीय त्यहाँ दौडिएका थिए। यो वर्षको मौसम पनि त्यस्तै छ। बुधबार माथिल्लो फेदीमा दुई फिट जति हिउँ रहेको माथिल्लो फेदी अस्थायी प्रहरी चौकीका इञ्चार्ज धनराज तुम्बापो बताउँछन्। उनले भने, ‘माथिल्लो फेदीदेखि मन्दिरसम्मै प्रशस्त हिउँ जमेको छ, मानिसहरुलाई आवतजावतमै समस्या भएको छ।’
प्राथमिक उपचार केन्द्रका अहेव उमनाथ पौडेल गतवर्षकै झल्को दिने मौसम भएको बताउँछन्। गतवर्ष पनि मन्त्री अधिकारीसहितको टोलीले हिउँमै हिँडेर पाथीभराको दर्शन गरेका थिए।

कान्तिपुरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*