पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनले आर्थिक समृद्धिमा टेवा : मन्त्री भट्टराई

वेलकम खबर
फाल्गुन १४, २०७६

ताप्लेजुङ, । संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनले मुलुकको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने बताउनु भएको छ । नेपाल भ्रमण बर्ष मुलुककै समृद्धिसंग जोडिएकोले यसको सफलताले मुलुकको आर्थिक सूचक उच्च बनाउने पनि मन्त्री भट्टराईले बताउनुभयो ।
गृह जिल्ला ताप्लेजुङमा गत ९ गतेबाट जारी पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको समापन समारोहलाई मंगलवार फुङ्लिङमा सम्बोधन गर्दै मन्त्री भट्टराईले पर्यटन क्षेत्रको पहिचान,विकास र प्रवद्र्धनमा सरकारले बिशेष ध्यान दिएको बताउनुभयो ।‘नेपाल भ्रमण बर्ष नेपालका पर्यटकिय क्षेत्रलाई प्रवद्र्धन गर्दै मुलुकको आर्थिक समृद्धिमा टेवा पु¥याउने पवित्र उद्देश्यप्रेरित छ’उहाँले भन्नुभयो ।

ताप्लेजुङसहितका नेपालका हरेक जिल्ला कुनै न कुनै पर्यटकिय महत्वले धनी रहेकोले पर्यटन बजारमा यसले ब्यापकता पाउने उहाँको भनाई थियो । मन्त्री भट्टराईले तमोर जलाशययुक्त आयोजना,तमोर करिडोर,उत्तर–दक्षिण लोकमार्ग, पाथीभरा मार्ग,कञ्चनजंघा मार्ग,मदन भण्डारी मार्गसहितका ठूला आयोजनामा पनि राज्यको उच्च प्राथमिकता रहेको भन्दै यसले आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनमा ठूलो बल पुग्ने दावी गर्नुभयो । यि आयोजनाको निर्माण र सम्पन्नताले पूर्वी नेपालको मात्र नभई मुलुककै समृद्धिको सान उचो बनाउने मन्त्री भट्टराईको दावी थियो । एक जिल्लामा रहेका पर्यटकिय क्षेत्रलाई नजिक र सीमा जोडिएको अर्को जिल्लासम्म चिनाउने र एकआपसमा भगिनी सम्वन्ध स्थापना गर्ने लक्ष्यका साथ सम्पन्न भएको पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको मन्त्री भट्टराईले खुलेर प्रशंसा गर्नुभयो । पर्यटकिय क्षेत्रका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणका कार्यमा आफ्नो र नेपाल सरकार स्वयंको उच्च प्राथमिकता रहेको उनले दोहो¥याउनुभयो ।

सुकेटार बिमानस्थलको स्तरोन्नती,पाथीभरामा केलवकार निर्माण,कञ्चनजंघा मार्गको व्यवस्थापन,तिम्बुङ पोखरी र फुङ्फुङ्गे झरना मार्गको व्यवस्थापनमा सरकारको प्राथमिकता रहेका उहाँले बताउनुभयो ।
मन्त्री भट्टराईले आफुले निर्वाचनका बेला गरेका बाचा र जारी गरेको घोषणा पत्रको स्मरण पनि गर्नुभयो । भन्नुभयो‘ बाचा र घोषणा गरिएका थिए,ति क्रमशः प्राथमिकताको आधारमा पूरा हुदैं गएका छन्’ । तमोर जलाशययुक्त आयोजना,उत्तर–दक्षिण लोकमार्ग,तमोर करिडोर,मदन भण्डारी मार्ग र सुकेटार बिमानस्थलको स्तरोन्नती उहाँका मुख्य चुनावी नारा थियो ।

सुकेटार बिमानस्थल अहिले स्तरोनती कार्य भईरहेको छ । बाँकी सबै आयोजना कुनै निर्माणको चरणमा र कुनै क्रमागत रुपमा चलिरहेका छन् । दुईसाता अघि मात्र तमोर करिडोर र उत्तर–दक्षिण लोकमार्गका लागि अर्थमन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयलाई करिव ३० करोड रकम रकमान्तर गरेको स्मरण पनि उहाँले गर्नुभयो । मन्त्री भट्टराई पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनले स्थानीयमा उद्यमशिलताको सृजना समेत हुने भएकोले परनिर्भरता हट्ने बताउनुभयो । त्यसका लागि सरकारले पर्यटन क्षेत्रमा लघु उद्यम सृजनाका कार्य,दक्षता अभिबृद्धि सहितका अभियानमा समेत ध्यान दिएको मन्त्री भट्टराईको भनाई थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*