ओली–नेपाल चार घन्टा भेटवार्ता : विश्वासको वातावरण बनाउने कसरत
नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार चार घन्टा लामो भेटवार्ता भएको छ । दुई नेताबीच अविश्वास चुलिँदै गएको चर्चा चलिरहेका वेला एक्लाएक्लै छलफल भएको हो । यसअघि २७ कात्तिकमा पनि दुई नेताबीच अहिलेजस्तै चार घन्टै लामो छलफल भएको थियो ।
दुई नेताबीच पार्टी र सरकार सञ्चालन तथा केन्द्रीय कमिटी बैठकको समीक्षामा केन्द्रित रहेर छलफल भएको छ । ‘उहाँहरूबीच निरन्तर छलफल र संवाद चल्दै आएको छ, पार्टीभित्रका समकालीन नेता भएकाले उहाँहरूबीच लामै छलफल हुने कुरा नौलो पनि भएन । त्यसकै निरन्तरताका रूपमा सोमबार पनि छलफल भएको हो,’ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले नयाँ पत्रिकासँग भने, ‘आवश्यकताअनुसार सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीका नेताहरूसँग पनि प्रधानमन्त्रीले छलफल गर्दै आउनुभएको छ र गर्दै जानुहुनेछ ।’
वरिष्ठ नेता नेपालनिकट एक नेताका अनुसार छलफलमा दुई नेताबीच पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने र आपसी विश्वासको वातावरण बनाउँदै अघि बढ्ने विषयमा समझदारी भएको छ । पार्टी एकतापछि ओली–नेपालको सम्बन्ध हार्दिकतापूर्ण छैन । पार्टी सञ्चालनमा ओलीले विधि मिचेको भन्दै नेपालले उनको कार्यशैलीको निरन्तर आलोचना गर्दै आएका छन् । उनको कार्यशैलीमाथि नेपालले केन्द्रीय सचिवालयमै दुईपटक ‘नोट अफ डिसेन्ट’ लेखिसकेका छन् ।
५ भदौमा सचिवालय बैठकमा भनाभन भएपछि करिब तीन महिनासम्म ओली–नेपालबीच भेटघाट मात्र होइन, बोलचाल नै पातलिएको थियो । तर, २७ कात्तिकको भेटमा भने उनीहरूले तिक्ततापूर्ण सम्बन्धको समीक्षा गर्दै संवाद बाक्लो बनाउने र विश्वासको वातावरण बनाउँदै अघि बढ्ने समझदारी गरेका थिए । त्यही भेटपछि ओलीले नेपाललाई कालापानी, लिपुलेकको सीमा समस्या समाधानका लागि भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्न विशेष दूत बनेर कुराकानीको नेतृत्व गर्न प्रस्तावसमेत गरेका थिए । तर, त्यो प्रस्तावले मूर्त रूप नलिएपछि नेकपा वृत्तमा फेरि दुई नेताबीच सम्बन्ध चिसिएको चर्चा चल्दै आएको थियो ।
२३ पुसमा उपाध्यक्ष वामदेव गौतमनिवास भैँसेपाटीमा नेपालसहित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल र वामदेव गौतमको बेग्लै बैठक बसेको थियो । त्यतिवेला सभामुख चयन प्रक्रियामा सचिवालयमा बेग्लै समीकरण बनेकाले अध्यक्ष ओली अल्पमतमा परेको चर्चा चल्दै आएको थियो । त्यसलगत्तै ओलीले ८ माघमा अर्का वरिष्ठ नेता खनालसँग पनि लामो छलफल गरेका थिए । नयाँपत्रिका दैनिकबाट



















