एमसीसी कार्यदलको पहिलो बैठकको निर्णयः शुरुदेखीको एग्रिमेन्ट मगाएर अध्ययन गर्ने
काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित एमसीसीसम्बन्धी अध्ययन कार्यदलको पहिलो बैठक आज सम्पन्न भएको छ । एमसीसीबारे अध्ययन गरेर मात्रै यसलाई संसदले पारित गर्नु पर्ने नेकपाको केन्द्रीय समिति बैठकमा आवाज उठेपछि झलनाथ खनालको नेतृत्वमा आइतबार तीन सदस्यीय अध्ययन कार्यदल गठन भएको थियो। कार्यदलको घोषणा भएको भोलिपल्टै सोमबार पहिलो बैठक बसेको कार्यदलका संयोजक झलनाथ खनालले चक्रपथलाई जानकारी दिनुभयो ।

कार्यदलको पहिलो बैठकले एमसीसी सम्झौताका बिषयमा भएका सामाग्रीहरु जम्मा गरेर अध्ययन गर्ने बताएको छ । संयोजक खनालले भन्नुभयो,–‘यसभन्दा अगाडिका सरकारले यो सम्झौता कसरी गरयो ? यसमा के के शर्त छन् ? एग्रिमेन्टमा के कस्ता उपलब्धी छन् ? यो नेपालमा कसरी शुरु भयो ? यसको सवै अध्ययन गरेर पार्टीलाई बुझाउछौ ।’
उहाँले एमसीसीमा उठेका विवादित बिषयहरुमा मसिनोगरि अध्ययन गरेर १० दिनभित्र पार्टीलाई प्रतिवेदन बुझाउने बताउनुभयो ।



















