भलिबलको उपाधि अक्सफोर्डलाई
खगेन्द्र अधिकारी
ताप्लेजुङ ३० औं प्याब्सन दिवसको अवसरमा जिल्ला प्याब्सन ताप्लेजुङले आयोजना गरेको छात्र÷छात्रा दुबै प्रतियोगिताको उपाधि अक्सफोर्ड मोडल बोर्डिङले हात पारेको छ ।
दुबै प्रतियोगितामा आथित्य बिद्यालय नवज्योति आवासीय माविलाई उपबिजेतामा सिमिति गर्दै अक्सफोर्डले छात्र÷छात्रा भलिबल प्रतियोगिताको उपाधि जितेको हो । यो संगै बुधवारबाट सञ्चालित प्याब्सन दिवसका सबै कार्यक्रम बिहीबार सकिएका छन् । माध्यमिक तह सञ्चालन भएका प्याब्सन आबद्ध बिद्यालयले भलिबल प्रतियोगितामा र आधारचूत तह सञ्चालन भएका बिद्यालयले साँस्कृतिक कार्यक्रममा सहभागिता जनाएका थिए ।
ताप्लेजुङ प्याब्सनले लामो समय सम्म कर्तव्यनिष्ठ र इमान्दार कार्य सम्पादनमा सकृय कञ्चनजंघा बोर्डिङ स्कुलमा कार्यरत संगीता पालुङ्वालाई सम्मान पनि गरेको छ । यसैगरी माध्यमिक शिक्षा परीक्षा(एसईई)२०७५ मा उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई समेत उसले सम्मान गरेको छ ।
सम्मानित हुनेमा छात्रतर्फ लिटिलबुद्ध बोर्डिङ स्कुलबाट एसईई उर्तिण बिशाल खतिवडा र छात्रातर्फ कञ्चनजंघा आवासीय माविबाट एसईई उर्तिण रिया निरौला रहेका छन् । खतिवडा र निरौला दुबै अध्ययनका क्रममा रहेकोले उनीहरुका अभिभावकमार्फत सम्मान पत्र बुझाईएको जिल्ला प्याब्सनका उपाध्यक्ष गणेश सिग्देलले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अथिति फुङ्लिङ नगर कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक एवम् फुङ्लिङ नगरपालिका वडा नं ८ का वडाध्यक्ष पदमसुन्दर पालुङ्वाले बिजयी टिम तथा खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए । जिल्ला प्याब्सनका अध्यक्ष दिनेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सनका १ नं प्रदेश सहकोषाध्यक्ष दिनेश प्रसाँई,पूर्व केन्द्रीय सदस्य युवराज गिरी र काजीमान पालुङ्वा,पूर्व जिल्ला अध्यक्ष इन्द्रकुमार गुरुङ,नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेन्द्र श्रेष्ठ,जिल्ला ब्याड मिन्टन संघका अध्यक्ष शिवकुमार गुरुङ,जिल्ला भलिबल संघका उपाध्यक्ष बिमल भण्डारी सहित बिभिन्न निजी तथा आवासीय बिद्यालयहरुका संस्थापक तथा प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो ।



















