भोजपुरको होटलमा भएको थियो विप्लव र प्रहरीबीच गोली हानाहान
भोजपुरमा विप्लव नेकपाको गतिविधि बढेको सूचना प्रहरीलाई थियो । सादा पोशाकका प्रहरीले निरन्तर निगरानी बढाइराखेका थिए । सोहीक्रममा सदरमुकामका बास बस्ने होटलमा पनि प्रहरीले निगरानी बढाएको थियो ।
भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार सादा पोशाकमा प्रहरी जवान संजिव राई विप्लव कार्यकर्ता बसेको शंका लागेर सदरमुकामस्थित हटिया छेउको पाँचधारे होटलमा पुगेका थिए । विप्लवका केही कार्यकर्ता सो होटलमा बसेका थिए । राईले शंका लागेर सोधपुछ गर्न नीरबहादुर राईलाई बोलाए । उनी आउन मानेनन् । शौचालय जान्छु भन्दै भाग्न खोजेपछि उनलाई प्रहरीले कठालोमा समात्यो । तत्कालै नीरबहादुरले पेस्तोल झिकेर कोखामा प्रहार गरे । संजिव त्यहीँ ढले । संजिवसँगै गएका अर्का सादा पोशाकका प्रहरीले आफ्नो पेस्तोलबाट नीरबहादुरलाई गोली हाने । दुवै जनाको मृत्यु भयो ।
खतिवडाले नीरबहादुरसँगै रहेका अन्य ३, ४ जनाको खोजी भइरहेको बताए । ‘विप्लव समूहको चलखेल भइरहेको भन्ने सूचना प्रहरीलाई थियो,’ उनले भने, ‘त्यही भएर निगरानी बढाइएको थियो । शंका लागेर होटलमा सोधपुछ गर्न खोज्दा एक्कासी उनीहरुले गोली हाने । सँगै रहेका अर्का प्रहरीले प्रतिकार गर्दा उनीहरुतर्फ पनि एक जनाको मृत्यु भयो ।’ उनका अनुसार तानातान ठेलाठेलमै नीरबहादुरले एक्कासी गोली हानेका हुन् । प्रहरीको थप मद्दत पछिमात्र घटनास्थल पुगेका थिए ।
प्रहरी जवान संजिवको शव धरानमा रहेका परिवारको जिम्मा लगाउन हेलिकोप्टर मगाइएको छ । उनको पोस्टमार्टम पनि धरानमै हुने खतिवडाले बताए । नीरबहादुरको शव भोजपुरमै रहेका उनको परिवारको जिम्मा लगाउने उनले जानकारी दिए ।



















