फुङलिङको बजेट साढे ५३ करोड

वेलकम खबर
असार १२, २०७६

जिल्लाको फुङलिङ नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ का लागि ५३ करोड ५२ लाख ११ हजार ३ सय ३४ रुपैयाँ पारित गरेको छ ।

उद्योग वाणिज्य सँघको हलमा मंगलबार आयोजित छैटौ नगरसभाले संघिय सरकार,प्रदेश सरकार र नगरपालिकाको गरि उक्त रकम पारित गरेको हो । बजेट सर्वसम्मतले पारित गरिएको नगरप्रमूख छत्रपति प्याकुरेलले बताए ।

चालु आर्थिक वर्ष २०७५÷७६ को तुलनामा आगामी आर्थिक वर्षको बजेट ३ करोड ६५ लाख ३१ हजार ३ सय ३४ रुपैयाँले बढि हो । संघिय सरकारवाट प्राप्त हुने ४८ करोड ३१ लाख ९३ हजार र प्रदेश सरकारबाट १ करोड ५८ लाख ७६ हजार तथा फुङलिङ नगरपालिकाबाट ३ करोड ६१ लाख ४२ हजार ३ सय ३४ रुपैयाँ छ ।

फङलिङ नगरपालिकाले आन्तरिक राजश्वमार्फत १ करोड ३५ लाख रुपैयाँ आय अनुमान गरेको छ । नगरपालिकाले चालुतर्फ ३४ करोड ५० लाख ५३ हजार र विकास (पुँजीगत) तर्फ १९ करोड १५ लाख ८ हजार ३ सय ३३ रुपैयाँ विनियोजन गरेको छ ।

पुँजीगततर्फ ३५.५२ प्रतिशत र चालुतर्फ ६४.४७ प्रतिशत छुट्याइएको हो । संघिय सरकारबाट प्राप्त अनुदानबाटै सामाजिक सुरक्षा भत्तातर्फ ४ करोड ५१ लाख ५० हजार तथा प्रधानमन्त्रि रोजगार कार्यक्रमतर्फ ११ लाख ४३ हजार छ ।उपप्रमूख बम बहादुर भट्टराई (तारा) ले प्रस्तुत गरेको विनियोजन विधेयकमा आगामी आर्थिक वर्ष २०७६÷७७ मा लागि ११ वटा गैरसरकारी सँघ÷संस्थाले ९ करोड १३ लाख १७ हजार ९ सय ४६ रुपैयाँ समावेश छ ।

तीमध्ये गैरसरकारी संघ संस्थाको पुँजीगततर्फ ८ करोड ६६ लाख ५७ हजार ९ सय ४६ रुपैयाँ र चालुतर्फ ४६ लाख ६० हजार रहेको छ । राजश्व वाँडफाँड (केन्द्र) आय ७ करोड ७८ लाखमध्ये कर्मचारी पारिश्रामिकमा ३ करोड ४५ लाख र पोसाका भक्ता ९ लाख,स्थानिय भक्ता २५ लाख,महंगी भक्ता १८ लाख,कर्मचारीको बैठक भक्ता १७ लाख ५० हजार र पदाधिकारी बैठक भक्ता ६२ लाख ५० हजार विनियोजन गरेको छ ।

यसैगरि घरभाडाका लागि १५ लाख ५० हजार तथा सवारी साधन भाडाका लागि ३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।पूर्वाधार विकास समितिको बजेट तथा कार्यक्रमअन्तर्गत सिँचाई निर्माणतर्फ २० लाख ५० हजार,सडक निर्माणतर्फ ४ करोड ९८ लाख ५ हजार,पुल पुलेसाका लागि २४ लाख ५० हजार,भवन निर्माणतर्फ १ करोड ४० लाख ८३ हजार ३ सय ३४ रुपैयाँ,खेलमैदानका लागि ८१ लाख,खोल्सी नियन्त्रण तथा तटबन्धन निर्माणतर्फ १३ लाख,ढल तथा नाली निर्माणतर्फ ६७ लाख र पदमार्ग निर्माणका लागि ७७ लाख ५० हजार फुङलिङ नगरपालिका विनियोजन विधेयकमा समावेश गरिएको छ ।

उता,पाथीभरा याङ्वरक गाउँपालिकाले प्रतिनिधिसभाका सांसद योेगेशकुमार भट्टराईको बिशेष उपस्थितिमा बजेट,नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेशसभाका सांसद द्धय बलबहादुर साम्सोहाङ र होमकुमारी साँवाको उपस्थितिमा गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङले बजेट प्रस्तुत गरेकी थिईन् ।

यहाँ मैवाखोला गाउँपालिका उपाध्यक्ष कौशिला थत्लुङद्धारा प्रस्तुत २७ करोड ३५ लाख ५५ हजार रुपैंयाको बजेटले यसपटक गाउँपालिकाका प्रत्येक वडालाई गाउँपालिकाको केन्द्र सम्म जोड्ने गरी सडक बिस्तारलाई पहिलो र शुसासन अभिबृद्धिलाई दोस्रो चरणमा राखेर बजेट ल्याएको छ । प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले समाबेशी सामुदायिक हल,वातावरण तथा बिपद् व्यवस्थापन सहितका कार्यक्रम समाबेश भएको जानकारी दिए ।

उनका अनुसार पूर्वाधारतर्फका कार्यक्रम पनि गाउँपालिकाको बजेटले महत्वका साथ समेटेको छ । मेरिङ्देन उपाध्यक्ष कल्पना तुम्बाहाम्फे,सिरिजिङ्घा उपाध्यक्ष ज्ञानुमाया चौहान र आठराई त्रिबेणी गाउँपालिका उपाध्यक्ष मञ्जु पौडेल भट्टराईले मंगलवार बजेट पेश गरेका छन् ।

यता फक्ताङलुङ, मिक्लाखोला र सिदिङवा गाउँपालिकाले मंगलबार बजेट ल्याएनन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ ले ‘हरेक स्थानीय तहले हरेक वर्षको असार दश गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान सम्बन्धित सभामा पेश गर्नुपर्ने व्यवस्था’ गरेको छ ।

यसरी पेश गरिएको बजेट १५ दिनभित्र गाउँ तथा नगरसभाबाट अनुमोदन हुनुपर्छ । असार १० गते बजेट प्रस्तुत गर्न नसकेका गाउँपालिकाले भौगोलिक विकटता, यो आर्थिक वर्षमा बाँकी रहने रकम यकिन हुन नसक्नु र हिमाली क्षेत्रमा कामगर्ने सिजन भएकाले समस्या भएको बताएका छन ।तीनैवटा गाउँपालिकाले असार २० सम्ममा गाउँसभामा बजेट प्रस्तुत गरेर असारभित्रै पास गरिसक्ने दाबी गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*