नयाँ संरचनाको स्वभाव जस्तै उच्च मनोवलका साथ काम गर्न डिआईजीको निर्देशन

ताप्लेजुङको दोभानमा बन्ने भयो ईलाका प्रहरी कार्यालय
वेलकम खबर
जेष्ठ ३१, २०७६

 

ताप्लेजुङ । प्रदेश १ प्रहरी प्रमुख, प्रहरी नायव महानिरिक्षक(डिआईजी) केदार रिजालले नयाँ संरचनाको उज्वल स्वभाव जस्तै नयाँ मनोवलका साथ काम गर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।
उनले प्रहरीसँग सहकार्य गरेर शान्ति सुरक्षा कायम गर्ने प्रयासमा सघाउन नागरिक समाजसंग आग्रह समेत गरेका छन् ।

ताप्लेजुङको मेरिङ्देन तथा आठराई त्रिबेणी गाउँपालिकाको संगम क्षेत्र दोेभान बजारमा बन्ने इलाका प्रहरी कार्यालयको भवन शिलान्यास पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डिआईजी रिजालले प्रहरी–जनता सहकार्यको खाँचो औंल्याए । उनले प्रहरीलाई बर्दी सहितको नागरिक र नागरिक र नागरिकलाई बर्दी बिनाको प्रहरीको रुपमा चित्रित गर्दै प्रहरी र नागरिकको सहकार्यबाट समाजमा शान्ति र अमनचयन कायम हुने बताए ।
जनताको सेवामा प्रहरीले उच्च मनोवलका साथ काम गर्ने हो भने शान्ति सुरक्षामा कुनै चुनौति आई नपर्ने रिजालको भनाई थियो । डिआईजी रिजालले प्रहरीको काम कारवाही र उनीहरुको दैनिकीका बारेमा स्थानीय तहका नेतृत्वकर्ताले अभिभावकीय भूमिका खेल्न सक्ने भन्दै प्रहरीका संरचना बनाउन र उनीहरुको कार्य सम्पादनमा सहजता ल्याउन समेत स्थानीय तहका नेतृत्वकर्तासंग आग्रह गरेका छन् । पुरानो भवन र जीर्ण रहेको दोभान इलाका प्रहरी कार्यालयका लागि मूल्य अभिबृद्धि कर (भ्याट)बाहेक २ करोड ४६ लाख ८८ हजार ९७३ रुपैंया बराबरको लागतमा अढाई तले १४ कोठ भवन बन्ने छ । यसमा मेस र शौचालय समेत छुट्टै निर्माण हुने छन् । प्रहरी कार्यालय भवन भित्र भने कार्यालय,ब्यारेक हल,हिरासत कक्ष सहितका संरचना हुने छन् । निर्माण हुने संरचना शीलान्यास भएको मितिले १२ महिनाको हुने छ । भ्याट बाहेक ३ करोड २ लाख ८२ हजार ८७२ रुपैंयाको लागतमा बन्ने गरी प्राविधिक लागत भएको यो संरचनाका लागि सेवालुङ निर्माण कम्पनी प्रालिले जिम्मेवारी पाएको छ ।
अहिले उसले ठेक्का पारेको रकम भने प्राविधिक लागतभन्दा १८.४७ प्रतिशतले कमी हो । डिआईजी रिजालले समयमै काम सम्पन्न गर्ने सवालमा तलमाथि नगर्न शीलान्यासकै दिन निर्माण कम्पनीको ध्यानाकर्षण गरेका छन् । रिजालले समयमा काम सम्पन्न गरेर निर्माण कम्पनीको प्रतिष्ठा कायम राख्नमा बिश्वस्त रहेको समेत जनाए । उनका अनुसार प्रदेश नं १ का १४ जिल्लामा ४९ वटा प्रहरी इकाई÷कार्यालय बन्दै छन् । ति मध्ये ताप्लेजुङमा दोभान सहित थुम्बेदिन र खेवाङ प्रहरी चौकी समेत रहेको प्रहरीले बताएको छ ।

दोभान क्षेत्र ५ वटा गाउँपालिकाको बीच भागमा पर्ने केन्द्र हो । तमोर करिडोरले जोड्ने तथा साँघु–गुफा हुदै धरान जाने बाटो समेत यहिँ मार्गबाट छिचोलिन्छ । दोभान आसपासमै बिद्युतको संरचना निर्माणको काम समेत केहि समयबाट सुरु हुन सक्ने सम्भावना रहेको छ ।
त्यस क्षेत्रको भौगोलिक तथा सामाजिक बनावट,प्रचलन,रीतिरिवाज र संस्कृतिका कारण यो क्षेत्र सुरक्षाका दृष्टले सम्बेदनशील मानिदै आएकोमा अब भने प्रहरीका लागि सुबिधायुक्त भवन सहितका संरचना थपिदै गएका छन् । आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष बिश्वनाथ सिटौलाले यो क्षेत्रमा बन्ने प्रहरी कार्यालय भवनले सुरक्षाका लागि आईपर्ने एउटा चुनौति चिर्ने बिश्वास लिए । मेरिङ्देन गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले ताप्लेजुङकै दोस्रो ठूलो मानिएको दोभान बजारमा प्रहरी कार्यालयको सुबिधायुक्त आफ्नै भवन हुनु सुखद् भएको बताए । यहाँ दुईवटा इलाका प्रहरी कार्यालय रहेका छन् । जसमध्ये सिरिजङ्घा गाउँपालिकाको तेल्लोकमा रहेको इप्रकाको भने यसअघि नै नयाँ भवन निर्माण भईसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*