अमेरिकाको फेयरफयाक्स सिटी कालिका नगरपालिकासँग सहकार्य गर्न तयार
काठमाडौं । चितवनको कालिका नगरपालिका र अमेरिकाको भर्जिनिया राज्यस्थित Fairfax City बीच सहकार्य विस्तार गर्ने विषयमा महत्वपूर्ण छलफल भएको छ ।

आज कालिका नगरपालिका प्रमूख विनोद रेग्मीसँगको भेटमा फेयरफ्याक्स सिटीकी मेयर Catherine Read सँग प्रविधि प्रयोग र उच्चस्तरीय विकासका अभ्यासबारे जानकारी लिँदै अनुभव आदानप्रदान गरेको हो । भेटका क्रममा कालिका नगरपालिकामा कार्यान्वयन भइरहेको जीपीएस प्रणाली, फोहर व्यवस्थापन,स्वास्थ्य, शिक्षा तथा पूर्वाधार निर्माणलगायतका कार्यक्रमहरूमा सहकार्य गर्ने प्रस्ताव प्रस्तुत गरिएको थियो । उक्त प्रस्तावप्रति मेयर Read तथा उनको टोलीले सकारात्मक प्रतिक्रिया दिएको जनाइएको छ ।

कालिका नगरपालिकाको तर्फबाट उपयुक्त समयमा नेपाल तथा नगरपालिकाको भ्रमणका लागि निमन्त्रणा दिइएकोमा मेयर Read ले खुशी व्यक्त गर्दै उपयुक्त समय मिलाएर आफ्नो टोलीसहित नेपाल आउने प्रतिबद्धता जनाइन् । साथै उनले कालिका नगरपालिकाको टोलीलाई पुनः फेयरफ्याक्स सिटी भ्रमणका लागि निमन्त्रणा समेत दिएकी छन् ।

यस कार्यमा सहजिकरण गर्ने प्रा.डा. रामहरि सुवेदी तथा समय उपलब्ध गराई सहयोग गर्ने सिटी इन्जिनियर,सिटी म्यानेजर र मेयर Read सहितको सम्पूर्ण टोलीप्रति कालिका नगरपालिकाले आभार व्यक्त गरेको छ ।



















