तेस्रो थेचम्बु याङ्वरक अन्तराष्ट्रिय चेस सुरु

वेलकम खबर
बैशाख ११, २०७६

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा तेस्रो थेचम्बु याङ्वरक अन्तराष्ट्रिय चेस प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको केन्द्र थेचम्बुमा सुरु भएको प्रतियोगिताको गाउँपालिका प्रमुख केशर मेन्याङ्वोले गरे । बैसाख १४ गतेसम्म सञ्चालन हुने चेसमा नेपाल र भारतका एक सय चार जना खेलाडीको सहभागिता रहेको ताप्लेजुङ बुद्धिचाल संघका अध्यक्ष राजकुमार मेन्याङ्वोले जानकारी दिए ।

नेपाल च्याम्पिनहरु पुरुपोत्तम चौलागाँई, सुहाना लोहनी, मदनवाबु कायस्थ र पूर्व च्याम्पियनहरु सहित एसियाकै प्रतिष्ठित चेस प्रतियोगिता पास्र्वनाथ च्याम्पियन सिक्किमका राहुल गुरुङ जस्ता चर्चित खेलाडीहरु थेचम्बुमा भेला भएका छन् । गाउँपालिकाको ८ लाख आर्थीक सहयोग तथा ताप्लेजुङ बुद्धिचाल संघको आयोजनामा प्रतियोगिता भएको हो ।

कार्यक्रम उद्घाटन गर्दै गाउँपालिका प्रमुख केशर मेन्याङ्वोले खेल पर्यटकको विकासका लागि आफूहरुले सहयोग गरेको बताए । “ताप्लेजुङमा नगरपालिका, गाउँपालिकाहरुले खेल विकासका लागि भन्दै फुटवल, भलिवल लगायतमा लाखौँ खर्च गरिरहेका छन् । तर हामी हाम्रो गाउँपालिकालाई बुद्धिचाल खेलको हव वनाउने उद्धेश्यले आयोजना गरेका हौँ ।” गाउँपालिका अध्यक्ष मेन्याङ्वोले भने । खेलकै लागि विभिन्न स्थानका खेलाडी आउने भएकाले पनि यस क्षेत्रको व्यापार व्यावसायमा वृद्धिलाई भएको उनको बुझाई छ ।

सामान्य व्यवस्थापनले पनि हुने यस खेलले शारिरिक र मानसिक दुवै स्वास्थ्यलाई फाईदा पुर्याउने चेसका सिनियर आर्विटर भवानी मेन्याङ्वोले सुनाए । उनले बौद्धिक खेलको प्रवद्र्धनका लागि गाउँपालिकाले सहयोग गरेर उदाहरणीय कार्य गरेको धारणा राखे । खेलाडी उत्पादनको हिसावले पनि धेरै राम्रो काम भएको अर्का आर्विटर हरि गुरुङको भनाई छ । यता खेलाडीहरुले भने छोटो छोटो समयमा चेस रेटिङ प्रतियोगिता हुनुपर्ने माग गरेका छन् ।

“विभिन्न स्थानमा नृत्य, गायन सिक्नका लागि प्रशिक्षण केन्द्रहरु खोलिएका छन् । त्यसरी नै चेसका लागि पनि प्रशिक्षण केन्द्रको आवश्यकता छ ।” खेलाडी सुसिला गुरुले भनिन् । पहिलो दिन सोमबार उद्घाटन मात्रै भएको थियो । खेल भने मंगलबारवाट सुरु भएको छ । यस अघिका बर्षहरुमा यो खेल स्थानिय युवाहरुको अगुवाईमा सञ्चालन भएको थियो ।

खुल्ला प्रतियोगितामा प्रथम हुनेले नगद नगद ५० हजार रुपैंयाका साथ ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छन् भने द्धितिय र तृतिय हुनेले क्रमश नगद ३५ र ३० हजारका साथ ट्रफी,मेडल र प्रमाण–पत्र पाउने छन् । १५ औं स्थान सम्ममा अटाउनेले नगद पुरस्कारको व्यवस्था गरिने प्रतियोगिता निर्देशक मेन्याङ्वोले जानकारी दिए ।

सो अनुसार खुल्लातर्फ चौथो हुनेले २१ हजार, पाँचौंले २०, छैटौंले १९, सातौंले १८, आठौंले १७, नवौंले १६ र दशौंले १५ हजार रुपैंया नगद पुरस्कार पाउँदा सो भन्दा ११ औं स्थानदेखि १५ औं सम्म हुनेले जनही १२ हजार रुपैंयाका दरले नगद पुरस्कार पाउने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*