ताप्लेजुङमा एकैदिन १० वटा बन्दुक बरामद
ताप्लेजुङ प्रहरीले एकैदिन १० वटा भरुवा बन्दुक वरामद गरेको छ । बुधवार एकैदिन जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी चौकीवाट खटिएको प्रहरीको टोलीले बन्दुक बरामद गरेको हो ।
ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाका अनुसार प्रहरी चौकी शिवाबाट खटिएको प्रहरीले फक्तालुङ गाउँपालिका १ सावादिन जंगलमा बेवारिशे अवस्थामा ३ वटा, प्रहरी चौकी निगुरादिनबाट खटिएको प्रहरी टोलीले आठराई त्रिवेणी गाउँपालिका १ बाट जंगलमा लुकाई राखेको १ थान, इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले आठराई त्रिवेणी गाउँपालिका २ फुलवारी स्थित ओडारे जंगलबाट २ थान, इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरी टोलीले श्रीजंगा गाउँपालिका ३ कुन्जरीमा लुकाई राखेको ३ थान भरुवा बन्दुक वरामद गरेको हो ।
यस्तै श्रीजंगा गाउँपालिका सिकैचा बस्ने ४० बर्षिय तुलाराम काङबाङले १ थान लाईसन्स सहितको भरुवा बन्दुक प्रहरीलाई बुझाएको डिएसपी थापाले जनाए । गत चैत्र १ गतेवाट सुरु गरेको अवैध हातहतियार संकलन अभियान अन्र्तगत एक महिनामा नै ५० वटा भन्दा वढि हतियार प्रहरीले संकलन गरेको छ ।
अभियान वैशाख ६ गते शनिवार सकिँदैछ । संकलन गरिएका हतियारमा अधिकांस अवैध रहेको प्रहरीको भनाई छ । केहि ले भने स्वतः स्पूर्त रुपमा ईजाजत लिएका हतियार पनि बुझाएका छन् । ६ गते राति १२ बजे सम्म कसैले अवैध रुपमा राखेको हतियार बुझाए कानुनी कारवाही नगरिने थापाको भनाई छ ।
“बैशाख ६ गते राति १२ वजेदेखि अभियान सकिँदै छ ।, त्यतिन्जेल सम्म कसैले अवैध हतियार बुझाए कानुनी कारवाही हुँदैन ।” डिएसपी थापाले भने “यदि त्यो भन्दा पछि अवैध रुपमा राखेको भेटिए कानुन वमोजिम कारवाही हुन्छ ।”
जिल्लामा अवैध हतियारहरुका कारण सुरक्षा चुनौती बढेको साथै जताभावी प्रयोगले सर्वसाधारणको ज्यान समेत जाने गरेको घटना बाहिर आउन थालेपछि गत माघमा बसेको सर्वपक्षिय बैठकले गाउँघरमा भएका हतियारहरु सङ्कलन गर्ने निर्णय गरेको थियो ।
हतियार सङ्कलन गर्ने निर्णय भएपछि जिल्लाका सबै स्थानीय तहलाई पत्रचार गरी अवैध हतियार सङ्कलन अभियानमा सहयोग गर्न आग्रह गरिएको थियो । स्थानीय तहसँग समन्वय र सहकार्य गरेर बन्दुकसहितका अवैध घरेलु हतियार संकलन अभियानलाई तीब्रता दिएको प्रहरी प्रमुख थापाको भनाई छ ।



















